वेष्ट इन्डिजबाट हिँडेका सन्दीप बिचबाटै गायव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वेष्ट इन्डिजबाट हिँडेका सन्दीप बिचबाटै गायव



काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउन ढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट तत्काल फर्किने बताइएका उनी अझै नेपाल आइसकेका छैनन्।

प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीप लामिछाने आइतबारयता सम्पर्कविहीन नै बनेका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई आफू नेपाल आउन लागेको जानकारी दिएका उनी नेपाल नआएपछि अनेक आशंका गरिएको छ।
सन्दीप कहाँ छन्? सेन्ट लुसियाबाट हिँडे कि हिँडेनन् यसबारे न त प्रहरीलाई केही जानकारी छैन ।

उनीबारे क्यान पनि अनविज्ञ नै छ । परिवारको पनि सम्पर्कमा नआएको स्रोतले बताएको छ । उनी कहाँ छन् र नेपाल कहिले आउँछन् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। बिचैमा उनीमाथि गम्भीर आरोप लागेपछि उनलाई क्रिकेट टिमको कप्तानबाट क्यानले निलम्बन गरेको थियो ।

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी सेन्ट लुसियाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर उनी त्यहाँबाट नेपालका लागि हिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ ।

शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने बताए। ‘म निर्दोष छु र नेपालको सम्मानीय कानुनमा पूर्ण विश्वस्त छु,’ उनले लेखेका छन्, ‘मैले सीपीएल नखेल्ने निर्णय लिएको छु र केही दिनमा स्वदेश फर्किन्छु।’ आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका थिए।

उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए। आइतबार उनले नेपाल फर्किंदै गरेको र आफू एयरपोर्टमा भएको बताएका थिए, त्यसयता उनीसँग सम्पर्क भएको छैन ।

भारतको बाटो हुँदै नेपाल आएको आशंका

कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई उक्त लिगको टिमले पनि निकालिसकेको छ ।

बलात्कृत युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् भने कतिपयले भारतको बाटो हुँदै नेपाल आइसकेको आशंका गरेका छन् ।

उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने र नेपाल आउने बताएका थिए ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् । काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार सो होटलको सीसीटीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् । होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११:५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप नेपाल नआए के हुन्छ भन्ने अन्योल भैरहेका बेला त्यहाँबाट फर्केका सन्दीप भने नेपाल आएको सूचना छैन ।