सन्दीपले दिल्लीको दोस्रो खेल खेल्न पाउने सम्भावना - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सन्दीपले दिल्लीको दोस्रो खेल खेल्न पाउने सम्भावना



एजेन्सी । आइपिएल खेल्ने अवसर पाएका नेपाली युवा बलर सन्दिप लामिछानेले दिल्लीको दोस्रो खेलमा भने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो भएको छ । दिल्लीको पहिलो खेलमा भने सन्दिपले खेल्न पाएका थिएनन् । पहिलो खेल दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटले हारेको छ ।

सन्दिपको सबैभन्दा बलियो सम्भावना हो आइतबारको खेलमा भारतीय स्पिनर अमित मिश्राको फ्लप प्रदर्शन । आइतबार  भएको पहिलो खेलमा दिल्लीमा स्पिनर अमित मिश्राको प्रदर्शन फ्लप रह्यो । उनले ४ ओभर बलिङ गर्दा ११.५ को इकोनोमीमा ४६ रन दिए । टि–२० मा यो इकोनोमी निकै फ्लप मानिन्छ । त्यसमाथि उनले कुनै पनि विकेट लिन सकेनन् । मिश्रालाई अत्याधिक महत्व दिँदै कप्तान गौतम गम्भीरले पूरै ४ ओभर बलिङ गर्न दिएका थिए । मिश्राले जत्तिकै ४ ओभर बलिङ गर्न पाएका अर्का बलर राहुल टेवाटियाले भने ६ को इकोनोमीमा मात्रै २४ रन दिएका छन् ।

खेलमा सबैभन्दा बढी इकोनोमीम रन दिएका बलर भने अर्का भारतीय स्टार बलर मोहम्मद समी हुन् । उनले मात्रै २ ओभर बलिङ गरे । तर, २ ओभरमै उनले १३ को इकोनोमीमा २६ रन दिए । समी फ्लप हुनु पनि सन्दिपको लागि अवसर खुल्न सहयोगी मान्न सकिन्छ तर सन्दिपको बलिङ स्टाइलमै बलिङ गर्ने बलर भने मिश्रा नै हुन् र सन्दिपले मिश्राकै ठाउँ लिनुपर्छ । मिश्राको फ्लप प्रदर्शनले उनलाई रेस्ट दिँदै सन्दिपलाई खेलाउन कप्तान र कोचलाई दबाब दिनेछ ।
अर्कोतर्फ दिल्लीको आगामी खेल राजस्थान रोयल्सविरुद्ध उसकै होमग्राउण्ड जयपुरमा हुँदैछ । यो बलरको लागि सहयोगी पिच हो र यहाँ ब्याटिङ गर्न निकै गाह्रो छ । बलरको लागि सहयोगी पिचमा कुनै पनि टिमले नयाँ बलर खेलाउन प्राथमिकता दिन्छन् किनकि नयाँ बलरको बलिङ ब्याट्सम्यानलाई थाहा हुँदैन र रहस्यमयी बलरले यसको फाइदा उठाउन सक्छन् । सन्दिप स्टार ब्याट्सम्यानको लागि रहस्यमयी बलर हुन् र उनको विकेट लिन सक्ने क्षमताले कप्तान गम्भीर र कोच रिकी पोन्टिङलाई पक्कै आकर्षित गर्नेछ ।