सन्दीप भारतको बाटो हुँदै नेपाल आएको आशंका - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सन्दीप भारतको बाटो हुँदै नेपाल आएको आशंका



काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउन ढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट हिजो नै फर्किने बताइएका उनी अझै फर्किएका छैनन् ।

कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई उक्त लिगको टिमले पनि निकालिसकेको छ ।

बलात्कृत युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर उनी त्यहाँबाट नेपालका लागि हिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् भने कतिपयले भारतको बाटो हुँदै नेपाल आइसकेको आशंका गरेका छन् ।

उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने र नेपाल आउने बताएका थिए ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् । काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार सो होटलको सीसीटीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् । होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११:५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप नेपाल नआए के हुन्छ भन्ने अन्योल भैरहेका बेला त्यहाँबाट फर्केका सन्दीप भने नेपाल आएको सूचना छैन ।