मध्यरातमा सन्दीप लामिछानेको स्टाटस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस



काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज आफू नेपाल आइपुग्ने बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गत शनिबार आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका थिए ।

लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।
गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।

साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।

उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् । सन्दीप हाल कुन देशमा छन् भन्ने खुलेको छैन । तर, उनी सिंगापुरमा रहेको प्रहरी अधिकारीहरूको अनुमान छ ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेकाे छ । सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेलका कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।