सन्दीप लामिछानेलाई अर्को सफलता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सन्दीप लामिछानेलाई अर्को सफलता



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिग (बीबीएल) यसपटक होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन्।

बीबीएलको दशौँ संस्करणको लागि उनी होबार्ट हुरिकेन्समा आबद्ध भएको उक्त फ्रेन्चाइजी टीमको वेभसाइटमा प्रकाशित समाचारमा उल्लेख छ। होबार्ट हुरिकेन्सले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ। उनीबाहेक विदेशी खेलाडीको कोटामा हुरिकान्सबाट  इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउल छन्।

यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए। उनले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्। स्टार्सबाट दुई सिजन खेल्दा उनले २० खेलमा २६ विकेट लिएका छन्।

बीबीएलको दशौँ संस्करण १० डिसेम्बरबाट शुरु हुँदैछ। ६ फेब्रुअरीमा सकिने लिगमा सन्दीप जनवरीदेखि मात्र जोडिने हुरिकेन्सले जनाएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएपछि युएईबाट नेपाल फर्किएका उनी अहिले परिवारसँग समय बिताइरहेका छन्। त्यसअघि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर वेष्ट इन्डिजबाट उनी दुबई पुगेका थिए।

सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार उनी डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जानेछन्। परिवारसँग समय बिताउन उनी ढिला गरी मात्र जान लागेको सिवाकोटीले बताए। अष्ट्रेलिया पुगेपछि उनी १५ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ। त्यसकारण उनले केही खेल गुमाउने सिवाकोटीको भनाइ छ।

बिग बासमा खेलाडीको अनुबन्ध रकम गोप्य राखिन्छ। यो वर्ष सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन्। यसअघि उनले सीपीएल र आईपीएल खेलिसकेका छन्। तर, यसपटक आईपीएलका लागि भने कुनै पनि खेलमा मैदान उत्रिन पाएनन्।