सानेपा काण्ड: सीसीटीभीमा कुकुरको अचम्म लाग्ने दृश्य भेटियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सानेपा काण्ड: सीसीटीभीमा कुकुरको अचम्म लाग्ने दृश्य भेटियो



काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या अनुसन्धान गरिरहेको प्रहरीले सीसीटीभी क्यामरामा कैद भएको अर्को दृश्यले ध्यान खिचेको छ ।

आफ्नै घरमा काम गर्ने कामदार विजय चौधरीले एकाएक मुना कार्कीमाथि आक्रमण गर्न थालेपछि तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ ।

मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ । भित्ता चिथोर्न थाल्छ, ढोकामा चिथोर्न थाल्छ ।

तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन ।

कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मार्ने प्रयास जारी राख्दछन् ।

त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आक्रामक रुपमा प्रस्तुत हुन्छ । तर, भित्र छिर्ने भान्छाको ढोका बन्द भएकाले सक्दैन ।

सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की हत्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कैद भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।