सङ्गीतका सचेत बिरही ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सङ्गीतका सचेत बिरही !



दीपक घिमिरे

प्रतिभा भएर पनि ओझेलमा परेका एउटा सङ्गीतका सर्जक हुन सचेत बिरही भण्डारी ।

२०३७ सालको असोज महिनामा प्युठान जिल्लाको तिराम (४ थक्लेनीमा बुवा बेदिराम भण्डारी र आमा सेतीदेवि भण्डारीको कोखमा जन्म लिएका सचेतको साङ्गीतिक यात्रा २०५१ साल बाट शुभारम्भ भएको बताउछन ।

हाल गढवा गाउँ पालिका (७ भोजपुरमा स्थायी बसोबास भएका सचेतले २०६२ सालमा लोक गायन तर्फ बाट रेडियो नेपालको स्वर परीक्षा पास गरेर आफू लाई अब्बल दर्जाको गायकको रूपमा उभ्याएका हुन । “ मैले सङ्गीतलाई व्यावसायिक र रहर दुवै माध्यम बाट अगाडि बढाउन चाहन्थे , त्यो बेला रेडियो नेपालको स्वर परीक्षा पास गरेकाहरुलाई मात्र एक प्रकारको गायक मान्ने चलन थियो । त्यसैले काठामाण्डौ पुगेर राष्ट्रब्यापी स्वर परीक्षामा सम्मिलित भएर पास गरेको हु । ” गायक सचेतले बताए ।

गायक सचेत बिरहीलाई देशव्यापी रूपमा चिनाउन स्वर परीक्षा पास मात्र होइन , उनको एउटा गीतले निक्कै माथि उठाउदै देश विदेश सम्म चिनाउन सफल भयो । २०५७ सालमा रेकर्ड भएको “ मशानघाटैमा ” बोलको गीतले त्यो बेला निक्कै चर्चा बटुल्न सफल भयो । देउखुरी क्षेत्रका सर्जकहरुको साथले बजारमा आएको पर्खी बस्ने छु एल्बममा समावेश मशानघाटैमा बोलको गीतले सचेतलाई साङ्गीतिक बजारमा स्थापित गराएको थियो ।

प्रतिभा भएर पनि ओझेलना बस्नु पर्दा नरमाईलो लाग्ने गरेको गायक सचेतको गुनासो छ । उनी भन्छन् “ त्यो समयमा स्वर परीक्षा उत्तीर्ण गरेको मान्छे हु तर आर्थिक अभावले समय सापेक्ष गायक बन्न सकेन । अबको जमाना यस्तो आयो कि खल्तीमा पैसा भयो भने गायक सङ्गीतकार बन्न सजिलो छ । तर स्वर र खुबी हुदैमा चल्तिको गायक या सङ्गीतको सारथी बन्छु भन्नू बेकार रहेछ ।”

एक दर्जन भन्दा माथि गीतमा स्वर दिएका सचेत ले त्यतीनै गीतमा सङ्गीत पनि दिएका छन् । उनी साङ्गीतिक क्षेत्रका मिठा रचनाकार भित्र समेत पर्दछन । शब्द छनोटमा विशेष ध्यान दिने सचेत आफूले लेखेका गितहरुको बारेमा भन्छन् “ मैले लेखेका गितहरुले मनोरन्जन मात्र नदिएर एउटा सन्देश पनि देओस , समाज परिवर्तनमा भूमिका खेलोस भन्ने चाहन्छु । जसले गर्दा म गीत लेख्न बसे भने सामाजिक परिवेश , रहन सहन अनि बर्गिय धरातलमा बसेर लेख्ने गर्दछु । फलस्वरुप मेरा गितहरुले जनताको मन छुन्छन ।”

पछिल्लो समयमा “ माया धेरै भो ” बोलको गीत बजारमा ल्याएका सचेतले थारु भाषा का करिब आधा दर्जन गीतमा स्वर दिएको बताउछन ।