संजय उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट पुग्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संजय उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट पुग्ने



काठमाडौँ, २३ कात्तिक– लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौँ देखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर आरोहण गरेको २ वर्ष पुगेको अवसरमा उनले २२ नोभेम्बरमा दशरथ रंगशालाबाट उल्टो पैदल दौड गर्ने घोषणा गरेका हुन् । उल्टो दौडको घोषणा गर्दै संजयले आफूले नेपाललाई विश्वसामू चिनाउन यस्तो अनौँठो कार्य गर्न लागेको बताए । मंगलबार काठमाडौँमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मान्छे उल्टो हिँडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुरा प्रमाणित गर्न मैले यो निर्णय लिएको हुँ । मलाई थाहा छ यो निकै कठिन कार्य हो तर, म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण विश्वस्थ छुँ ।’ साथै उनले साहसीक पर्यटनलाई टेवा पुर्याउने उद्धेश्य राखेको उल्लेख गरे । संजयले नेपालबाट उल्टो दौडको सुरुवात भएको सन्देश विश्वसामू पुर्याउँदै आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्ने बताए । उनले भने, ‘भविष्यमा उल्टो दौड आयोजना गरी वोर्ल्ड च्याम्पियन्सीप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने छु । मलाई थाहा छ यस कार्यलाई संसारले अनौँठो रुपमा हेर्नेछ ।’ उनले २२ नोवेम्बेर २०१४ मा अस्ट्रेलियाको सर्वोच्च शिखर ५ घण्टा २७ मिनेटमा सफलता पूर्वक उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिँडेर अफ्रीकाको सर्वोच्च शिखर आरोहण गरेका थिए । संजयले सवोच्च शिखर सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु, जापानको फुजी, तान्जानियाको मेरु, यूरोपको सर्वोच्च शिखर एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पूर्वक आरोहण सम्पन्न गरिसकेका छन् । उनले काठमाडौँ खासा, खासा काठमाडौँ, जिरी काठमाडौँ गोर्खा, प्युठान काठमाडौँ, लुक्ला आइलैंड पिक, दाङ प्युठान गरी दर्जनौँ लामो दुरीका दौडहरुको अनुभव लिँदै २४९५ किमि लामो दौड दौडी सकेका छन् । त्यसैगरी तेन्जिंग हिलारी म्याराथोंन, मनास्लु अल्ट्रा २१३ किमि, काठमाडौँ अन्तर्राष्ट्रिय म्याराथोंन, रियल अन्तर्राष्ट्रिय म्याराथोंन, कस्पोक म्याराथोंन, इन्वेसमेन्ट बैंक म्याराथोंन लगायत अन्य प्रतिस्पर्धामा संजयले भाग लिसकेका छन् । उनको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिव तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ । उनी यसै बर्षको अन्त्यसम्म अन्टार्टिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा छन् ।