शंकरनगर वन विहारको सातौं साधारणसभा सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शंकरनगर वन विहारको सातौं साधारणसभा सम्पन्न



बुटवल, ११ कार्तिक ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वनवाटिका तिलोत्तमा नगरपालिकाको प्रमुख गहना भएकाले यसको पर्यटकीय विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

उनले वन वाटिकामा करिब १४ करोड लागतमा १० तले भ्यू टावर बनाउन टेण्डर समेत आव्हान भइसकेकाले भ्यू टावर निर्माणपछि यहां आउने पर्यटकको संख्यामा तीन–चार गुणाले बृद्धि हुने औंल्याए । भ्यू टावर निर्माणलाई चार वर्ष हैन दुई तीन वर्ष भित्रै पूरा गर्ने गरी सक्रिय भएर लाग्न पनि नगर प्रमुख घिमिरेले सुझाव दिए । तिलोत्तमालाई स्वच्छ र सफा नगरपालिका बनाउन नगरपालिकाले अघि सारेको सरसफाई अभियान र फोहरमैला व्यवस्थापनका लागि वहुउपयोगी ल्याण्डफिलसाइड निर्माण कार्यमा सहयोग गर्न पनि घिमिरेले नगरवासीसंग आग्रह गरे । वनवाटिकाको कारण अहिले तिलोत्तमा नगरपालिका र नगरवासीले गर्व गर्न पाएको स्मरण गराउंदै नगरप्रमुख घिमिरेले वन वाटिकाको पर्यटकीय विकासमा कसैले पनि असहयोग र अवरोध गर्न नमिल्ने बताए ।

केन्द्रका अध्यक्ष बाबुराम अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै वनवाटिकाभित्र नगरपालिकासंग मिलेर भ्यू टावर निर्माण शुरु हुने प्रकृयामा रहेको जानकारी गराउंदै आगामी दिनमा बाल रेल सञ्चालन, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माण, ऐतिहासिक कुवा संरक्षण, चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति, तारबार, विपश्यना ध्यान केन्द्र निर्माण र जटिबुटी÷जिवजन्तु संरक्षण गर्ने लक्ष्य राखिएको बताए ।
केन्द्रका सचिव खिमलाल पाण्डेले आर्थिक वर्ष २०७३–७४ मा १ लाख २६ हजार ७ सय पांचजना आन्तरिक तथा वाह्य पर्यटक वनवाटिका घुम्न र अवलोलन भ्रमणका लागि आएको जानकारी दिए ।

साधारणसभामा केन्द्रका सल्लाहकार केशवराज न्यौपाने,माओवादी केन्द्रका तुल्सीप्रसाद सापकोटा,राष्ट्रिय जनमुक्ति पार्टीका हरिओम विक,वाम एकता संयोजन समितिका टिकानिधि गौतम,तिलोत्तमा नगरपालिका वडा नंं २ का अध्यक्ष दधिराम गौतम,वडा नंं का अध्यक्ष टामनाथ पाण्डे,शंकरनगर दुर्गादत्त माविका प्राचार्य कृष्णप्रसाद पन्थी,रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भेषराज गैरे, केन्द्रका आजीवन सदस्य सुलोचना नेपाल लगायतले बोल्दै वनवाटिकालाई प्रदेश नंं ५ कै नमूना पर्यटकीय स्थल बनाउन सरोकारवाला सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

शंकरनगर सामुदायिक वनको ५ सय ७६ हेक्टर मध्ये ५१ हेक्टर क्षेत्रफललाई २०६२ सालदेखि रमणीय र आकर्षक बनाउंदै वन विहार तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न थालिएको हो । केन्द्रमा ३ सय ४९ जना साधारण सदस्य र ४१ जना आजीवन सदस्य गरी ३ सय ९० जना सदस्य रहेका छन् । साधारणसभामा केन्द्रका कोषाध्यक्ष गोपाल थापाले आर्थिक वर्ष २०७४–७५ का लागि १ करोड ३९ लाख १० हजार ८ सय ५७ रुपैयां बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए । साधारणसभामा वनवाटिका परिसरमा शेड स्थापना गरेका व्यक्ति र संस्थालाई कदरपत्रले सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रुपमा मालती भूसाललाई पुरस्कृत गरिएको केन्द्रका उपाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।