संक्रमित युवाको पिडा: आफ्नै खबर पत्रिका पढेर थाहा भयो, स्वास्थ्यकर्मी नजिकै परेनन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संक्रमित युवाको पिडा: आफ्नै खबर पत्रिका पढेर थाहा भयो, स्वास्थ्यकर्मी नजिकै परेनन्



धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए ।

‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी आएनन् । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चारजना झुल्किएका थिए, तर चेकजाँच गरेनन्,’ उनले भने, ‘भर्ना भएको दिन लेखिदिएको औषधि सकियो । कोठामा अक्सिजन पनि छैन । यहाँ उपचार हुँदैन भने मलाई काठमाडौं पठाउनु पर्‍यो ।’

११ चैतमा भर्ना भएका उनलाई कोरोना पुष्टि भएको रिपोर्ट शुक्रबार आएको थियो । त्यसपछि उनलाई पुरानो कोठाबाट शव घर नजिकको कोठामा सारिएको थियो । तर, त्यतिबेलासम्म पनि आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी नगराएको उनले बताए । ‘कोरोनाको बिरामी भेटिएको भन्ने खबर सञ्चार माध्यमबाट थाहा पाएपछि डाक्टरलाई फोन गरेर सोधेँ । त्यसपछि मात्रै जानकारी पाएँ,’ उनले भने ।

शनिबार उनले गुनासो सार्वजनिक गरेपछि दिउँसो प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयसहितको टोलीले भेटेको छ । तर, कुनै चेकजाँच नगरी केहीबेर कुरा मात्रै गरेर गएको बिरामीको गुनासो छ । आफन्तले पनि स्वास्थ्यकर्मी बिरामीसँग तर्सिएर भाग्ने गरेको बताए ।

अस्पतालका डाक्टर जगदीशप्रसाद जोशीले बिरामी जाँच्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नहुँदा समस्या भएको बताए । ‘व्यक्तिगत सुरक्षा नहुँदा स्वभाविक रुपमा केही समस्या हुन्छ ।

अहिले सुनिएका कुरा त्यसैसँग जोडिएका छन्,’ जोशीले भने । तर, बिरामीले उपचार नै नपाएको भन्ने चाहिं गलत भएको उनको दाबी छ । मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले चिकित्सकको निगरानीमा संक्रमितको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताए ।

धनगढीका संक्रमित ७ चैतमा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका थिए । विमानस्थलमा मामाको छोरोले रिसिभ गरेका उनी त्यस दिन काठमाडौंस्थित मामाकै घरमा बसेका थिए । भोलिपल्ट बुद्ध एअरको विमानमा नेपालगञ्ज पुगेको उनले बताए ।

नेपालगञ्ज विमानस्थलबाट कोहलपुरसम्म रिक्सा र कोहलपुरबाट अत्तरियासम्म हायसमा यात्रा गरेको बताए । अत्तरियाबाट धनगढी बजारसम्म विंगर प्रयोग गरेका उनले त्यहाँबाट घरसम्म पुग्न अटो रिक्सा प्रयोग गरेको बताए । घरपरिवार बाहेक अरुसँग आफ्नो भेटघाट नभएको उनको भनाई छ ।

९ गते बेलुकी ज्वरो आएजस्तो भएपनि केही समयमै ठिक भएको उनको भनाई छ । अर्को दिन समान्य रुघा लागेको पनि बताए । ‘१० चैतमा पनि रुघाखोकी लागिरहेपछि श्रीमतीले अस्पताल जान भनिन् । अनि भोलिपल्ट एक नातेदार भाइसँग मोटरसाइकलमा सेती अस्पताल आएको हो,’ उनले भने ।

संक्रमितका परिवार अस्पताल ल्याउन पनि समस्या

युवामा संक्रमण पुष्टि भएपछि प्रहरीले शुक्रबार राति नै परिवारका सदस्यलाई अस्पताल ल्याउन खोजेको थियो । तर, एम्बुलेन्स चालकले व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै जान नमानेपछि रोकिएको नयाँ पत्रिका दैनिकले लेखेको छ  ।

संक्रमित परिवारका आठ सदस्य र उनलाई उपचारका लागि ल्याउने एक आफन्तलाई शनिबार मात्रै प्रहरीले अस्पताल ल्याएको छ । उनीहरूलाई पनि आइसोलेसनमा राखिएको छ । सबैको खकार परीक्षण हुनेछ । सेती प्रादेशिक अस्पतालमा अन्य १० शंकास्पदको परीक्षण रिपोर्ट आउन बाँकी रहेको डा. पाण्डेयले बताए ।