सत्ता, शक्ति र परिवार छाडेर, जो एक्लै ‘विप्लव’ तिर होमिए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सत्ता, शक्ति र परिवार छाडेर, जो एक्लै ‘विप्लव’ तिर होमिए



बीबीसी- प्रहरीद्वारा दाङमा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’को दलका नेता-कार्यकर्ता मध्ये सन्तोष सुवेदी पनि एकजना छन्।

विप्लवको दल नेकपाको रोल्पा जिल्ला इन्चार्ज सुवेदीको राजनीतिक पृष्ठभूमिका रोचक छ।

विप्लव जस्तै उनी पनि यसअघि तत्कालीन एकीकृत नेकपा माओवादीमा थिए।

करिब तीन वर्षअघि २०७२ साल चैतमा उनले प्रचण्डको दल छाडेको घोषणा गरेका थिए।

उक्त दलको राप्ती ब्युरोको बैठकका क्रममा प्रहरीले केन्द्रीय सदस्यहरू सहितका नेता-कार्यकर्तालाई गिरफ्तार गरेको हो।

दाङमा थुनामा रहेका अहिले उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुरक्षा अधिकारीहरूले मंसिर १४ गते हुने दाङ प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को चुनावमा बाधा पुर्‍याउने लगायतका विषयमा बैठकमा छलफल गरिरहेको हुनसक्ने अनुमान गरेका छन्।

उपराष्ट्रपतिका सहयोगी थिए सुवेदी

सन्तोष सुवेदी अघिल्लो संविधानसभा चुनावमा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई हराएर चर्चित बनेका नेकपा नेता झक्कुप्रसाद सुवेदीका छोरा हुन्।

प्रचण्डले क्रान्ति विसर्जन गरेको भन्दै माओवादीबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा नयाँ दल बन्यो। त्यहाँबाट छुट्टिएर नेत्रविक्रम चन्दले फेरि अर्को दल बनाए।

प्रचण्ड नेतृत्वको दल छाडरे सन्तोष सुवेदी त्यतै लागे।

बुवा काठमाण्डूमा चुनाव लड्दा सन्तोष रोल्पामा चुनाव विरोधी गतिविधिमा संलग्न थिए। त्यही क्रममा उनी पक्राउ पनि परेका थिए।

त्यसअघि उनी उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा थिए। सन्तोषले उपराष्ट्रपतिको नेपाली-अङ्ग्रेजी भाषा अनुवादकको काम गर्ने गरेको उनको परिवारले जनाएको छ।

परिवार सबै सत्ताधारी दलमा

नेकपाका केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीका दुई छोरामध्ये कान्छा सन्देश प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको सचिवालयमा छन्।

जेठी छोरी भावना प्रदेश सभा सदस्य हुन्। कान्छी छोरी शुभकामना पनि नेकपामै छिन्।

परिवारका सदस्यहरूका अनुसार स्कुले शिक्षा दाङ्मा लिएका सन्तोषले अमृत साइन्स क्याम्पसबाट बिएस्सी गरेको हुन्।

सन्तोषकी आमा खुमा सुवेदी प्राथमिक विद्यालयको स्थायी शिक्षिका थिइन्। पतिको आग्रहपछि जागिर छाडेर छोराछोरी सहित आफू पनि सशस्त्र विद्रोहकालमा भूमिगत भएको उनले बताइन्।

छोरा विप्लवको दलमा लागेपछि परिवारमा भित्रिएको चिन्ता उनको गिरफ्तारीसँगै झनै थपिएको खुमा सुवेदीले सुनाइन्।

छोराको सुर्ताले आमा बिरामी

बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “श्रीमानसँग म बाहिर गएकी थिएँ। छोरा त निस्किएर रोल्पामा जिल्ला शिक्षा अधिकारीलाई मोसो दल्न पो पुगेछ। हामीलाई त थाहा नै थिएन।”

छोराछोरीलाई दु:ख गरेर पढाएको बताउने उनी अहिले चिन्ताले ग्रस्त बनाएको सुनाउँछिन्। उनको मूल्याङ्कनमा छोरा सन्तोष पार्टीमै थिए, निकै राम्रो काम पनि गरिरहेका थिए। देश विदेश देखेका थिए।

सन्तोषका परिवारका सदस्यका अनुसार विप्लवको दलतिर लागेपछि स्थानीय चुनाव ताका उनलाई बुवाले काठमाण्डू ल्याए। तर उनी फेरि फर्किएर रोल्पा गए र पार्टीमा पुन: क्रियाशील बनेका हुन्।

छोराको निर्णयबाट निराश भएको बताउँदै आमा खुमा भन्छिन, “के भयो त्यसलाई, अहिले आएर हेर्नुस् न के गर्ने? म त चिन्ताले बिरामी भइसकेँ।”

सन्तोषले बुवाको पार्टीले क्रान्तिलाई धोका दिएको बताउने गरेका थिए।

विप्लवको विरोध

तर परिवारका सदस्यहरू सन्तोष सम्बद्ध रहेको दल राजनीतिक र वैचारिक रूपमा अनिश्चित बाटोमा रहेको बताउँछन्।

सन्तोष लगायतको गिरफ्तारीको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्तिमार्फत कडा शब्दमा विरोध जनाएका छन्।

संविधानप्रति असहमति जनाउँदै आएको विप्लवको दलले हिंसात्मक क्रियाकलाप गरेको आरोपमा उसका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको छ।

तर उक्त दलले औपचारिक रूपमा सशस्त्र सङ्घर्षको घोषणा गरेको छैन।