सन्तोषीका अभियुक्तको बयान: यौन सम्पर्क गर्न शौचालयमा लगें, नमानेपछि घाँटी थिचेँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सन्तोषीका अभियुक्तको बयान: यौन सम्पर्क गर्न शौचालयमा लगें, नमानेपछि घाँटी थिचेँ



काठमाडौं- युट्युबमा चर्चा कमाएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानबाट सन्तोषीको हत्या भएको खुलेको थियो ।

काठमाडौंको दक्षिणकालीबाट २८ वर्षीय सुरेश तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो । सन्तोषी गएको मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी थिइन् ।

काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर १७ वर्षदेखि बस्दै आएकी सन्तोषी तीन दिनदेखि सम्पर्कमा नरहेको खुलेको छ । प्रहरीका अनुसार धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् ।

घटनाको महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंले अनुसन्धान गरेको थियो ।प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।

प्रहरीका अनुसार उनी घरबाट निस्केपछि फर्पिङ पुगेर होटेलमा बसेको खुलेको छ । अपराध महाशाखाका अधिकारीले भने, “उनी होटेलमा बसेको खुलेको छ । त्यहीँ बसेर चियाँ खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएको देखिन्छ ।” सुरेशले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौँ’ भनेर प्रस्ताव गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीसंगको बयानमा सुरेशले सन्तोषीलाई पाँच हजार दिएको बताएका छन् । बयानमा उनले यौन सम्बन्ध राख्नकै लागि शौचालयमा लगेको तर नमानेपछि हत्या गरेको बताएका छन् ।

उनले पाँच हजार रुपैयाँ दिएको बताएका छन् । सन्तोषीले प्रतिकार गर्दा सुरेशको हातमा लागेको चोटसमेत देखिएको जनाइएको छ ।प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्र्दै आएको मोबाइलसमेत बरामद गरेको छ । घटनास्थलबाट बरामद प्रमाण र सुरेशको साथबाट बरामद भएको प्रमाणले हत्यामा उनको संलग्नता पुष्टि भइसकेको महाशाखाका अधिकारीहरु बताउँछन् ।

चिकित्सकको टोलीले सन्तोषीको शरीरबाट स्वाब संकलनसमेत गरेको छ । प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।