सपना भित्रको सपना ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सपना भित्रको सपना !



-दीपक घिमिरे

अब हामी टाढिनु पर्छ !
फोनबाटै मीठो किस दिएपछि एक्कासि उनको मुखबाट यस्ता शब्द फुस्किए , अनि चुप भईन ।
एकछिनको मौनता पछि सोधे, सक्छ्यौ ?
कोसिस गर्छु ! उनले रुन्चे स्वरमा भनिन । अनि भन्दै गईन, तपाईँले गरेको मायाको ऋण तिरे मैले । अब म तपाईँको मायाको ऋणी छैन ।
मसँग शब्द थिएन, फोन काटिदिएँ ।
दिउसोको एक बज्दै थियो, तर मेरा लागि अँध्यारो भइदियो । मानौँ म कुनै अँध्यारो कोठामा बसेको छु । छटपटी हुन थाल्यो । मनमा उ प्रतिको माया अनि घृणा दुवै जाग्न थाले । उनले गरेको माया मेरा लागी अपार थियो तर मायालाई एउटा चुम्बनले तिरेर टाढिन खोज्ने उनको मनलाई देखेर घृणा लाग्न थाल्यो ।
फेसबुक खोले , उनको श्रीमान् अनि छोरासँग हाँसेर खिचेका तस्बिरहरू नियालेँ । म उनका तस्बिरमा लाईक मात्र गर्छु कहिलेकाहीँ , तर कमेन्ट प्राय गर्दिन । उनको सुखी परिवारका प्रत्येक तस्बिरमा लाईक ठोक्दै गएँ । दिमागमा उनी थिइन भने आँखामा उनका तस्बिर ।
घडीले दिउसोको तीन बजाउँदै थियो । म पीडा कम गर्ने उद्देश्यले फेसबुक म्यासेन्जरमा गएर उनलाई लेखे, लास्ट पटक सोध्दैछु ! तिमी छुट्टिन सक्छ्यौ कि नाई ?
अफलाइन बसेकी उनी दुई सेकेण्डमै म्यासेज हेरेर रिप्लाई गर्दै लेखिन “सक्दैन ।“
अनि किन टाढिने कुरा गरेको त मोटी ! मैले माया र रिस मिसिएको भावमा सोधे ।
मन त टाढिने नै हो तर अघि फिल भो, सक्दैन भन्ने कुरा । उनले पनि चिन्तित स्वरमा मनका कुरा सुनाइन ।
अब के गर्ने त ? मैले सोधे ।
जीवनभर माया गर मलाई, म पनि तिमीलाई माया गर्छु । उनले मायालु स्वरमा भनिन ।
खुसीले जिस्काउँदै भने, बिहे गरम !
उनी हाँस्दै भनिन, पागल ! दुई वटी बुढी मिलाउन सक्छौ ?
म हासे मात्र, उनले भनिन अब सुत्छु, भोलि चाँडो उठ्नु छ ।
फोनमा बिदा भएपछि उनी सुतिन, म साहुको काममा अलि बढी बिजी भएँ ।
साँच्चै हामीबिच आज लभ पर्‍यो , माया बस्यो या भनौ पिरतीको डोरीमा हामी बाँधियौ । आफैले आफैलाई सोध्न थाले, के उनले पनि मैले जस्तै माया गर्छिन् त ?
हामी कोषौ टाढा छौ, यति टाढा कि उनी रातको सपनामा रमाउँदै गर्दा यता भतभती पोल्ने घाममा म साहुको काममा जोतिइरहेको हुन्छु । अनि म यता थाकेर निदाउँदा उनी दिनमा अफिस तिर हुन्छिन् । मतलब यता दिन हुँदा उता रात हुने ठाउँमा छौ हामी । तर पनि नजिक भएको फिल गर्छौ ।
बर्षौ देखिको चाहत , मेरो दिवानापनले यति बेला लक्ष्य प्राप्ति गरेको थियो । म उनलाई मन पराउँछु भन्ने कुराको आभास उनलाई गराउन नसक्दा बर्षौ हामी साथी मात्र भयौ त्यो पनि फेसबुकमा । तर साथी भन्दा माथि उक्लने मेरो चाहना कहिल्यै उक्लन सकेन , त्यो बेला ।
तर खै कसरी हामीबिच माया बस्यौ , अब छुट्टिनै नसक्ने अवस्थामा पुगेका छौ । मन खुसी गराउँदै काम गरिरहे । मनमा उनलाई सजाउँदै काम गरिरहें । सायद उनले पनि मनमा मलाई सजाउँदै निदाइन कि ?
म उनलाई प्रेम गर्थे , तर बिना स्वार्थको । न बिहे गरौला भन्ने स्वार्थ , नत सँगै बसौला भन्ने स्वार्थ । आजभोलि त समय र परिस्थितिले यस्तो बनाइदियो कि भेटौला भन्ने स्वार्थ पनि छैन । स्वार्थ छ त केवल मायाको । उनले मीठो स्वरमा आई लभ यु भनुन् अनि मैले रिप्लाई गर्न पाउ उस्तै मीठो गरी ।
मनमा अनेक कुरा खेलाउँदै खुसी हुँदै बिदा हुने समय पर्खँदै थिएँ। म्यासेन्जरमा ट्वाङ बज्यो , खुसी हुँदै हेरे ।
म अफिस आईपुगे ! उनले लेखेकी थिइन ।
यसको मतलब थियो, आऊ च्याट गरम ।
हामीबिच एउटा सम्झौता भएको छ । उनी घरमा हुँदा मैले पहिला म्यासेज नगर्ने । उनले गरेपछि या अनुमति दिएपछि मात्र रिप्लाई गर्ने । म अफिस पुगे भन्नुको मतलब अब मज्जाले गफिन पाउँछौ भन्नू नै थियो ।
आई लभ यु ! उनले अफिस आइपुगेको म्यासेजमा रिप्लाई गर्दै मैले लेखेँ ।
लभका इमोहरु सँगै उनले रिप्लाई गर्न थालिन । हामी च्याटमा गफिँदै गयौ । पहिले तपाईँ भन्थे, अस्तिसम्म तिमी भने र आजभोलि त भन्ने हैसियतमा उक्लिएँ । साथीभन्दा अलिकति माथि उक्लिएँ ।
तिमी नेपाल कहिले आउँछौ ? एक दिन माया प्रेमका गफ भन्दा पर रहेर उनले सोधिन ।
किन ? मैले उल्टै प्रश्न गरिदिएँ ।
तिमीलाई मेरो सुकुटीमा राखेर नगरकोट घुमाउनु छ । सिधा भन्नू पर्दा तिमीसँग डेटिङ जानूछ । उनले कल्पना सुनाउन थालिन ।
मैले पनि यस्तै सपना देख्न थालेको थिएँ । लामो सास फेर्दै भन्दिएँ , तिम्रो स्कुटीमा पछाडि बसेर तिम्रो पिठ्यौमा टाउको अड्याएर निदाउनु छ । त्यति बेला तिमी जहाँ लान्छ्यौ , त्यही जानेछु ।
साँच्चै भन के ! कहिले आउँछौ ? लाडे पल्टँदै फेरि सोधिन ।
तिमी बोलाऊ , म आजै आउँछु । मैले जिस्काइदिएँ ।
कहिले सिरियस हुँदैन यार यो मान्छे । मलाई तिमीसँग घुम्नु छ । उनले रुन्चे अनि रिस मिसाउँदै भनिन ।
मैले वास्तविकता चिर्दै भने, तिमीसँग डेट त्यो पनि नेपालमा ! हुनै नसक्ने कुरा । तिमी अमेरिका आऊ । एक हप्ते डेटमा जाउला तर नेपालमा त ! ना बाबा ना । “
अहिले चैँ उनी रिसाइन, तिमी गलत सोचको छौ ! उनी भन्दै गईन, हामी प्रेमी प्रेमिका भन्दा पहिला असल साथी हौ , भेट्दैमा , कफी पिउँदैमा या स्कुटी चढेर घुम्दैमा डराउनु पर्छ र ?
मैले नेपाली समाजको वास्तविकता भन्दै गएँ , उनले नकार्दै गईन । आफ्ना अफिसका स्टाफसँग घुमेका , चिया कफी पिएका गफ सुनाइन । मेरो मनमा हिम्मत जगाइदिइन ।
ल छिट्टै आउँछु अनि तिमी सँग घुम्छु । मैले आश्वासन दिएँ ।
दिन दिनै गफ हुन थाले । मायामा हामी डुब्न थाल्यौ । घरका कुरा हुन्थे । म उनको उहाँसँग डराउँथे , उनी मेरी उनीसँग डराउँथिन । तर उनी आफै भन्थिन, यो हाम्रो गोप्य अनि निस्स्वार्थ माया हो । म तिमीलाई तिम्री उनिबाट अलग गराउँदैन बरु माया अझ गाढा बनाउन मद्दत गर्छु ।
म झन् मायामा डुब्थे । म उनको म्यासेजको पर्खाइमा सारा दिन कटाउँथे । उनी घरमा भएको समयबाट हिसाब गर्थे अनि अफिस नपुगुन्जेल उकुस मुकुस भएर बस्थे । कहिले काहीँ उनको उहाँ नभएको मौकामा हामी रातभर पनि गफियौ तर त्यो सौभाग्य सधैँ कहाँ मिल्छ र ? अफिस नपुगुन्जेल म कुरुवा आसिक , उनी मेरी प्रियतम ।
दिनहुँ च्याट , घण्टौँ फोन हुन थालेपछि एक दिन उनले भनिन, पाँच दिन मात्र भएपनी नेपाल आऊ । म तिमीलाई भेट्न चाहन्छु ।
उनले यसो भन्दै गर्दा म भित्र पनि मायाका ज्वारभाटा दन्किँदै थिए । यो पैसा , अनि यो दैनिकको कामबाट केही दिन बिदा लिएर नेपाल जाने योजना बनाएँ ।
म आउँदै छु भन्ने थाहा पाएपछि म भन्दा धेरै खुसी उनी भईन । हामी भेटेर के के गर्ने भनेर योजना बनाउन थाल्यौ । कफी पिउने , उनीसँगै स्कुटीमा घुम्ने त थिए नै । एयरपोर्ट सम्म लिन आउने , सपिङ गर्ने सम्मका योजना बुनिए ।
नेपाल जाने हतारो उस्तै थियो । उनलाई भेट्नु अनि उनीसँग डेट जानू मात्र योजना थिए, यो पटकको नेपाल यात्रामा । यता मैले कुनै सपिङ गर्नु थिएन । मात्र साहुको कामबाट छुट्टी लिनु थियो । लिएँ, अनि प्लेन टिकेट अनलाइन बुकिङ गरेर बसेँ ।
नेपाल हिडने तयारीका साथ घर बाट निस्कँदै थिए । एउटा हातले झोला बोकेको थिएँ , अर्को हातले ढोकामा ताला लगाउँदै थिए । गोजीमा भएको मोबाइल बज्न थाल्यो ।
ढोका लगाएर मोबाइल निकाल्छु भन्दै थिएँ , ढोकामा चाबी नमिलेर हैरान । भुईँमा झोला राखेर मोबाइल निकाल्दै थिएँ । पहिलो कल काटियो । फेरि चाबी लाउने तयारी गर्दै थिएँ । फोनको घण्टी बज्न थाल्यो ।
झोला भुईँमा राखेर मोबाइल निकाल्दै थिएँ । कसैले मेरो पिठ्युँ मा कोट्याउँदै भन्यो, ओए ! डिप्टी जाने हैनस ? अलार्म बजेको बज्यै छ । ढिला भइसक्यो ।
म झल्याँस्स ब्युँझिएँ ! झनक्क रिस उठ्यो अनि मुसुक्क हाँस्दै आफैले आफैलाई खुसुक्क भने, साला ! सपना भित्रको सपना पो रैछ ।
सपनामा लभ परेर उनलाई भेट्न नेपाल हिडन लागेको मान्छे हतारका साथ काममा हिँडे । आजको दिन अलिकति ढिला हुने भयो । हैट सपना पनि कस्ता कस्ता , सपना भित्रै सपना देखिने ।