सपाङ्गभन्दा कम पौरखी छैनन् टीकाराम - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सपाङ्गभन्दा कम पौरखी छैनन् टीकाराम



पथरी (मोरङ), पुस १७ गते  । सामुदायिक वनले दाउरा खुलाएपछि ४३ वर्षीय टीकाराम तामाङ ह्विलचेयर लिएर दाउरा लिन कानेपोखरीको जङ्गलतिर लाग्नु हुन्छ । प्रायः उहाँ एक्लै हिँड्नु हुन्छ । जङ्गलमा समेत एक्लै जानुहुन्छ साथीभाइ र छिमेकीले एक/ दुईवटा दाउरा खोजिदिन्छन् र ह्विलचेयरमा राखिदिन्छन् ।

वर्षमा तीनपटक जेठ, असोज र पुस महिनामा उपभोक्ताका लागि जङ्गल खुल्ला हुने गर्छ । त्यो पनि मात्र पाँच दिनका लागि यो अवधिमा दाउरा खोज्न सामुदायिक वन क्षेत्रमा पस्ने उपभोक्ताको सङ्ख्या दैनिक १० हजारभन्दा बढी हुने गर्छ । दाउरा काट्न जङ्गल जाँदा उपभोक्तालाई खुकुरी र नाम्लो मात्र लान दिइन्छ । तर, टीका तामाङ एकमात्र त्यस्ता उपभोक्ता हुनुहुन्छ उहाँ ह्विलचेयरमा जङ्गल जानुहुन्छ उहाँसँग न त दाउरा काट्ने हतियार हुन्छ, न दाउराको भारी बाँध्ने डोरी नै । उहाँ भन्नुहुन्छ – “श्रीमतीले बनिबुतो गरी ल्याएको अन्न काँचै खान मिलेन, घरमा दाउराको चोइटोसम्म हुँदैन । गोबर ग्यास राख्ने क्षमता छैन ।

टीकाले दाउरा लिन जङ्गल जानु परेको कारण पुष्टि गर्दै भन्नुभयो । टीका जन्मदै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँका दुवै खुट्टा चल्दैनन् । आफूलाई दुःखी, कमजोर र अपाङ्ग देखाउन पटक्कै मन नपराउने तामाङ श्रम गरेरै खानुपर्ने मान्यतामा अडिग हुनुहुन्छ । टीकाले २०५६ मा टीका तामाङसँग मागी विवाह गर्नुभयो । उहाँ अहिले एक श्रीमती, दुई छोरा र एक छोरीका साथ मोरङको केरौन–५ भौसाबारीमा बस्दै आउनुभएको छ ।

अपाङ्ग श्रीमान् र सपाङ्ग श्रीमती भए पनि उनीहरुको जोडी एकापसमा सहयोगी छ । श्रीमती टीकामाया भन्नुहुन्छ – “भाग्यअनुसारको जीवनयापन गर्नुपर्ने हो, उहाँ थप्नु हुन्छ – घर बाहिरको काम म गर्छु । उहाँले घरभित्रको काममा भरथेक गर्नुहुन्छ ।” पाँच वर्षअघि सिविआरले दिएको ह्विलचेयरमा टीकारामले दाउरा बोक्न थालेको चार वर्ष भयो ।
टीकालाई सरकारी र गैरसरकारी निकायले कुनै सहयोग गरेको छैन । तीनजना छोराछोरीलाई टीकाराम र टीकामायाले बनिबुतो गरेर पाल्नुभएकै छ । आफू अपाङ्ग भए पनि परिवारका सबै सदस्य सपाङ्ग छन् । त्यही खुसीले अरु सबै दुःख बिर्सिएको बताउने टीका भन्नुहुन्छ – “गाविसले छोराछोरीलाई पढाउन सहयोग गरे हुन्थ्यो । उहाँका छोरा र छोरी क्रमशः ३ र ६ कक्षामा पढ्छन् कान्छो छोरा भर्खर एक महिनाको भएको छ । रासस