सभामुखमा अग्नि सापकोटा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सभामुखमा अग्नि सापकोटा



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार अपराह्न ४ बजे सचिवालय बैठक डाकेको छ ।

साँझ बस्ने उक्त बैठकले सभामुखको उम्मेदवार तय गर्ने बताइएको छ ।

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सभामुखकै विषयमा छलफल गरेका थिए ।

सभामुखका लागि दुवै अध्यक्षले आफूनिकट नेताहरूको दाबी प्रस्तुत गरेका थिए ।

सभामुखको आकांक्षी बनेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले सभामुखको उम्मेदवार तय गरेपछि राजीनामा बुझाउने बताएकी थिइन् ।

आइतवार बस्ने सचिवालयले उम्मेदवार टुंगो लगाएपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्ने अपेक्षा गरिएको छ ।

स्रोतका अनुसार सभामुख चयनमा करिव टुङ्गो लागिसकेको छ । साँझ बने बैठक औपचारिकता मात्रै भएको स्रोत दाबी गर्छ ।

लामो समयदेखि पार्टीमा सभामुखका लागि दुई अध्यक्षबीच शक्ति संघर्ष चलेपछि गतसाता बुधवार प्रचण्डले पार्टीका शीर्षनेतासँग वामदेव गौतमनिवास भैंसेपाटीमा भेला गरेका थिए ।

प्रचण्डले झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग परामर्श गरेपछि अर्का अध्यक्ष ओलीमाथि सभामुख छोड्न दबाब बढेको छ ।

सुरुमा जनार्दन शर्मालाई सभामुखका लागि ल्याउने तयारी गरिएपनि अहिले भने अग्नि सापकोटा बन्ने पक्का जस्तै भएको बताईन्छ ।

यस बाहेक हरिबोल गजुरेल, सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल र देव गुरुङको नाम चर्चामा थियो । उपसभामुख तुम्बाहाम्फेले पनि आफूलाई सभामुख बनाउनुपर्ने अडान छाडेकी छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि दबाब परेपछि उनले सभामुख पूर्वमाओवादीकै भएपनि हुने तर सरकार सञ्चालनमा पूर्ण सहयोग हुनुपर्ने शर्त राखेको स्रोतले दाबी गरेको छ ।

स्रोतको दाबी अनुसार प्रचण्डले सापकोटालाई तयार भएर बस्न आग्रह गरेका छन् ।