एमाले छिरेका सरावगीको बिजोग, गिरिश गिरीको जमानत समेत जफत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमाले छिरेका सरावगीको बिजोग, गिरिश गिरीको जमानत समेत जफत



वीरगन्ज- वीरगन्ज महानगरपालिकाको विकास र परिवर्तनका लागि खबरदारी गर्ने राजेशमान सिंह अन्ततः जवाफदेहिताको स्थानमा पुगेका छन् । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट वीरगन्ज–३ को वडा सदस्यमा निर्वाचित सिंह २५ वर्षपछि मेयर बनेका छन् ।

०६० सालको स्थानीय निर्वाचनमा पनि अत्यधिक मत पाएर साविकको वीरगन्ज उपमहानगरपालिका–३ को वडाअध्यक्षमा निर्वाचित भएका सिंह विशुद्ध राजनीतिक व्यक्तित्व हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरको प्रत्यासी बनेका सिंह विजयकुमार सरावगीभन्दा सात हजार २२८ मतान्तरले पछाडि परेका थिए । उनले योपटक सरावगीलाई २२ हजार ४४४ मतान्तरले पछाडि पारे ।

सरावगी मेयरमा उठ्नकै लागि तामझामसहित नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेलगत्तै उनलाई केपी शर्मा ओलीले मेयरको टिकट दिएका थिए ।

अहिले मेयरमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का उमेदवार सिंहले ४६ हजार २१५ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर समेत रहेका नेकपा (एमाले)का उमेदवार सरावगीले २३ हजार ६७१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार गिरिश गिरीले तीन हजार ३१३ मत पाएका छन् । गिरीले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।

सिंह केही महिनाअगाडि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै जसपामा प्रवेश गरेका थिए । जसपाबाट निर्वाचित मेयर सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर–१ का संघीय सांसद् प्रदीप यादवले सिंहलाई सरावगीसँग प्रतिस्पर्धा गर्न जसपामा भित्र्याएका थिए ।