बेथितिले सिमा नाग्यो : सरकारी गाडीमा निर्वाचन प्रचारप्रसार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बेथितिले सिमा नाग्यो : सरकारी गाडीमा निर्वाचन प्रचारप्रसार



काठमाडौं-

बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन्। संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन्। थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन्।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन्। माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए। स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन्।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन्। उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन्। संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा.२झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन्। समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन्।

सरकारी गाडी फिर्ता नगरेका संसद्का पूर्वपदाधिकारीहरू चुनावी प्रचारमा गृहजिल्लामा व्यस्त छन्। पूर्वउपसभामुख यादव १० दिनदेखि सप्तरीमा छन्। स्रोतका अनुसार उनी तत्काल काठमाडौं फर्किने मनस्थितिमा छैनन्। लोकतान्त्रिक फोरमको सचेतकको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका चौधरी अहिले दाङमा छन्। माओवादी केन्द्रकी नेतृ सीता नेपालीसमेत एक महिनादेखि सुर्खेतमा छिन्। उनी दोस्रो चरणको निर्वाचन अर्थात् २१ मंसिरपछि मात्रै काठमाडौं फर्किने छिन्। संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका कांग्रेस नेता भीष्मराज आङदेम्बेले भने शुक्रबार गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ। स्रोतका अनुसार सामाजिक न्याय तथा मानवअधिकार समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गर्दै आएका राप्रपाका श्रेष्ठ हाल गृहजिल्ला महोत्तरीतिर छन्।