सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२९) « Himal Post | Online News Revolution
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२९)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ पञ्चमोऽध्यायः

अर्जुन उवाच
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम्।।१।।

सोध्छन् अर्जुन भन्नुहोस् प्रभु, म के गर्नु, पऱ्यो सङ्कट
साह्रै अल्‌मलिँदै  यस् हजुरका वाग्जालले पो म त।
आज्ञा हुन्छ तँ कर्म गर् भनी अनि फेरी नगर् क्यै पनि
यौटै मर्जी हओस् न निर्णय गरी यो गर् तँ ऐले भनी।।१।।

श्रीभगवानुवाच
संन्यासः कर्मयोगश्च निःश्रेयसकराभुवौ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते।।२।।

अर्जुन्‌का यी कुरा सुनी खुसी भई भन्नुभयो कृष्णले
यी सन्न्यास र कर्मयोग दुइ नै हुन् पार्थ मुक्ति दिने।
यी सन्न्यास र कर्मयोग दुइमा हो कर्मयोग् नै ठूलो
त्यस्‌ले गर्नु छ कर्मयोग तिमीले बेला यसैको छ यो।।२।।

ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि काङ्क्षति।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते।।३।।
सांख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम्।।४।।

प्रेम, द्वेष, लिँदैन दुःखसुखमा पार्थक्य देख्तैन जो
उस्‌को छुट्तछ कर्मबन्धन त्यसै ऊ नित्य सन्न्यासी हो।
जस्‌ले साङ्ख्य र कर्मयोग अलगै हुन् भन्छ त्यो मूर्ख हो
दोटैको फल मिल्छ राम्ररी लिए बाटो कुनै एकको।।३।।

यत्सांख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते।
एकं सांख्यं च योगं च यः पश्यति स पश्यति।।५।।
संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः।
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छति।।६।।

जुन् स्थल् मिल्दछ साङ्ख्यबाट उही नै योग्‌ले पनि मिल्दछ
एकै देख्तछ साङ्ख्य, योग जसले उस्‌कै सही दृष्टि छ।
सन्न्यासी हुन दुःख हुन्छ, नबनी निष्कामकर्मी तर
सन्न्यासी भइ गर्म व्यस्त रहँदा ब्रह्मत्व नै मिल्दछ।।४।।

(क्रमशः)