सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४६) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४६)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

परस्तमात्तु भावोन्योव्यक्तोव्यक्तात्सनातनः।
यः स सर्वेषु भुतेषु नश्यत्सु न विनश्यति।।२०।।
अव्यक्तो
क्षर इत्यक्तस्तमाहुः परमां गतिम्।
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम।।२१।।

जो यो तत्त्व छ व्यक्तदेखि परको अव्यक्त यस् नामको
सारा जीवजगत् सकिन्छ र पनि नासिन्न ऊ नित्य हो।
जो अव्यक्त कहिन्छ अक्षर पनि त्यै हो परंधाम हो
त्यो नै हो परमागति त्यहीँ पुगे पर्दैन झर्नू उँधो।।१३।।

पुरुषः स परः पार्थ भक्त्या लभ्यस्त्वनन्यया।
यस्यान्तः स्थानि भूतानि येन सर्वमिदं ततम्।।२२।।
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः।
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ।।२३।।

जस्‌का भित्र छ यो चराचर जगत् जस्‌बाट यो व्याप्त छ
त्यै विश्वम्भर हो, परम् पुरुष हो, त्यो भक्तिले मिल्दछ।
कुन् बेला मरी जन्मिइन्छ भवमा, जन्मिन्न कैले मरे
यस्‌बारे म यहाँ बताउँछु सखे मन्-चित्तलाई सुने।।१४।।

अग्निर्ज्योतिरहः शुक्ल षण्मासा उत्तरायणम्।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः।।२४।।
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम्।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्त निवर्तते।।२५।।

दिन्‌मा अग्नि र शुक्ल पक्ष, र अनि त्यो उत्तरायण्‌महाँ
जो ब्रह्मज्ञ शरीर छाड्दछ गई ऊ मिल्छ ब्रह्मैमहाँ।
धूवाँ, रात र कृष्ण पक्षसँग नै त्यो दक्षिणायन्‌महाँ
मर्ने पुग्दछ चन्द्रलोक र पछि जन्मिन्छ यै लोकमा।।१५।।

शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते।
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः।।२६।।
नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन।
तस्मात्सर्वेषु कालेषु योगमुक्तो भवार्जुन।।२७।।

ज्योतिर्मार्ग र धूममार्ग दुइटा संसारका मार्ग छन्
पैलो मार्ग लिने अडिन्छ उही नै दोस्रो लिने फिर्दछन्।
यी दोटै पथ जानी राख्छ जसले पर्दैन त्यो मोहमा
त्यस् कारण् समदृष्टि ली अब तिमी लागे सधैँ योगमा।।१६।।

वेदेषु यज्ञेषु तपःसु चैव दानेषु यत्पुण्यफलं प्रदिष्टम्।
अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैति चाद्यम्।।२८।।

वेद्को पाठ गरेर मिल्छ जति जे पुण्यादि यस् लोकमा
जुन् फल् मिल्दछ वेदमा विहित सह यज्ञादि सत्कर्ममा।
श्रद्धापूर्वक दानको र तपको जुन् पुण्यफल मिल्दछ
यो जानेपछी नाघी योगी सब ती ब्रह्मैमहाँ मिल्दछ।।१७।।

तत्सदिति श्रीमद्भागवद्‌गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अक्षरब्रह्मयोगो नामाष्टमोध्यायः।।८।।

(क्रमशः)