सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति।।२५।।
तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्।
आचार्यन्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा।।२६।।

द्रोणाचार्य र भीष्म आदि वीरका सामू पुऱ्याई रथ
भन्नूभो अब हेर अर्जुन यहाँ एकत्र कौरव् सब ।
देखे अर्जुनले उपस्थित त्यहाँ बाबु, बराजु, अनि
मामा औ गुरु, पुत्र, नाति र अनि भाईभतीजा पनि।।१८।।

श्वशुरान्सुहृदश्चैव सेनयोरुभयोरपि
तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान्।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्

अर्जुन उवाच
दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् ।।२८।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते।।२९।।

त्यस्तै नै ससुरा र मित्रहरू छन् आफ्नै भलो चिन्तक
दोटै सैन्यमहाँ खचाखच सबै आफन्त औ बान्धव।
आफ्नै बन्धुहरू उपस्थित त्यहाँ देखेर युद्धोत्सुक
अर्जुन्‌ले मनमा उठेर करुणा यो भन्न लागे अब।।१९।।
आफन्तैहरू लड्न तत्पर यहाँ देखेपछि हे प्रभु !
अत्यन्तै भयभीत छु र अति नै धड्कन्छ मेरो मुटु।
गल्छन् अङ्ग फतक्क औ मुख पनि अत्यन्त नै सुक्तछ
बारम्बार जिरिङ्ग बन्छ र शरीर् थर्‌थर् गरी काम्दछ।।२०।।

गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन:।।३०।।
निमित्तानि च पश्यामि विपरीतानि केशव।
न च श्रेयोंऽनुपश्यामि हत्वा स्वजनमाहवे।।३१।।

आफैँ खस्तछ हातबाट धनु यो सारा शरीर् पोल्दछ
बस्नै सक्तिनँ नाथ ! मन् पनि अहो स्थिर् हुन्न मेरो अब।
देख्तै छु विपरीत लक्षणहरू के हुन्छ क्यै जान्दिनँ
मारी बान्धव युद्धमा म त प्रभो ! कल्याण नै देख्तिनँ।।२१।।

(क्रमश:)