सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६१) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६१)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

नभःस्पृशं दीप्तमनेकवर्णंव्यात्ताननं दीप्तविशालनेत्रम्।
दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा धृतिं न विन्दामि शमं च विष्णो।।२४।।

आकाशै तक उच्च औ मुख सधैँ बाइरहेको हुने
बल्दा नेत्र हुने अनेक रङ्ले सारा शरीर् टल्कने।
यस्तो देखि तपाईँको स्वरूप यो डर्‌ले म छु व्याकुल
राख्‍नै सक्तिन धैर्य शान्ति मनमा मिल्दैन हे अच्युत।।१७।।

दंष्ट्र्राकरालानि च ते मुखानि दृष्ट्वैव कालानलसन्निभानि।
दिशो न जाने न लभे च शर्म प्रसीद देवेश जगन्निवास।।२५।।

दाह्राले विकराल मुख् हजुरका कालाग्नि झैँ लाग्दछन्
डर्‌ले होश हवास गुम्‌भई सक्यो यी अङ्ग सब् गल्दछन्।
के गर्छु म कहाँ छु यो पनि हरे, छोडेँ म बुझ्नै अब
पाउँ शान्ति छिटै, प्रसन्न हुनुहोस् हे विश्वरूपी अज।।१८।।

अमी च त्वां धृतराष्ट्रस्य पुत्राः सर्वे सहैवावनिपालसङ्घैः।
भीष्मो द्रोणः सूतपुत्रस्तथासौ सहास्मदीयैरपि योधमुख्यैः।।२६।।
वक्त्राणि ते त्वरमाणा विशन्ति दंष्ट्राकरालानि भयानकानि।
केचिद्विलग्ना दशनान्तरेषु सन्दृश्यन्ते चूर्णितैरुत्तमाङ्गैः।।२७।।

यी जम्मै धृतराष्ट्रका सुतहरू राजा रजौटासित
भीष्म द्रोण र कर्ण नै पनि सबै हाम्रा सिपाही सँग।
दाह्राले विकराल ती हजुरका मुख भित्र गै पस्तछन्
कोही अल्झिइ दाँतमाझ घुलिँदो खप्पर् लिई झुल्दछन्।।१९।।

यथा नदीनां बहवोम्बुवेगाः समुद्रमेवाभिमुखा द्रवन्ति।
तथा तवामी नरलोकवीराविशन्ति वक्त्राण्यभिविज्वलन्ति।।२८।।
यथा प्रदीप्तं ज्वलनं पतङ्गाविशन्ति नाशाय समृद्धवेगाः।
तथैव नाशाय विशन्ति लोकास्तवापि वक्त्राणि समृद्धवेगाः।।२९।।

जुनरित्ले नद औ नदीहरू गई सागर महाँ खस्तछन्
त्यस्तै यी नरलोक वीर प्रभुका मुख भित्र गै पस्तछन्।
बल्दो अग्निमहाँ पतङ्ग जसरी पस्छन् स्वयं नाशिन
त्यस्तै लोक तपाइँका मुखमहाँ पस्तै छ है नाशिन।।२०।।

(क्रमशः)