सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९०) « Himal Post | Online News Revolution
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः।।७।।
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत्।
स कृत्वा राजसं त्यागं  नैव त्यागफलं लभेत्।।८।।

छोड्नु नित्य क्रिया हुँदैन कति नै ज्ञानी हओस् मानिस
मोहैका वश त्याग भो यदि भने त्यो त्याग हो तामस।
दुःखै मात्र छ त्यस्‌महाँ भनि कुनै सत्कर्म छाड्यो भने
राजस् त्याग कहिन्छ त्यो र फल क्यै मिल्दैन त्यस् त्यागले।।५।।

कार्यमित्येव यत्कर्म नियतं क्रियतेर्जुन।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्त्विको मतः।।९।।
न द्वष्ट्यकुशलं कर्म कुशले नानुषञ्जते।
त्यागी सत्वसमाविष्टो मेधावी छिन्नसंशय।।१०।।

गर्नैपर्छ भनी स्वकर्म जसले निःसङ्ग भै गर्दछ
फल्‌को आश पनि लिँदैन त भने त्यो त्याग हो सात्त्विक।
आसक्ति शुभ कर्मतर्फ छ, न ता द्वेषै अशुभ् कर्ममा
त्यागी हो अनि सात्त्विकै पनि उही त्यै विज्ञ हो लोकमा।।६।।

न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते।।११।।
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम्।
भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित्।।१२।।

मानिस्‌ले सब कर्म छोड्न कहिल्यै सम्भव् नबन्ने हुँदा
जस्‌ले त्याग्दछ कर्मफल् उही पुरुष् मानिन्छ त्यागी सदा।
प्यारो, अप्रिय, मिश्र तीन् किसिमका छन् कर्मका फल्‌हरू
भोगीले सब भोग्नुपर्दछ मरी, बच्छन् ती योगीहरू।।७।।

पञ्चैतानि महाबाहो कारणानि निबोध मे।
सांख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम्।।१३।।
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम्।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम्।।१४।।

सिद्धिप्राप्ति निमित्त कर्महरूका छन् पाँच यी कारण
तिन्‌को वर्णन साङ्ख्यमा छ म त्यही भन्दै छु ऐले सुन।
कर्ता, स्थान, अनेक साधन तथा चेष्टा हजारौँ थरी
पाँचौँ दैव छ हेर चारसँग यो छुट्तैन केही गरी।।८।।

(क्रमशः)