सरस्वती आराधनाको सिद्धान्त - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरस्वती आराधनाको सिद्धान्त



-डा. गोविन्द शरण उपाध्याय

श्री वसन्त पञ्चमी, श्री पञ्चमी, श्री सरस्वती पूजाको हार्दिक शुभकामना । आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ । यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरिका मान्छेले सरस्वती पूजा भनेको आफ्ना बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्छ भन्ने आन्दोलन हो हो भनेर बुझुन् ।

सरस्वती “सरस तथा वती” ई दुईवटा शब्द मिलेर वनेको छ, जसको अर्थ प्रवाहशीलतायुक्त भन्ने हुन्छ । विद्यावान हुनुको अर्थ परिवर्तन, निरन्तरता तथा रसिलोपन हो । विद्याले प्रगति हुन्छ -अर्थात् यथास्थितिको अन्त्य हुन्छ । धेरैजसो अनपढ मान्छेहरूको जीवन एकरस हुन्छ तर ज्ञानी हुँदैनन् भन्न मिल्दैन । सरस्वतीको प्रतिकात्मक अर्थ हो – चरैवेति चरैवेति अर्थात् निरन्तर क्रियाशील रह ।

देवी सरस्वतीको पोशाक सेतो छ । सेतो कुनै रङ्ग होइन । यो शुद्धताको प्रतीक हो । बालबालिकाको मस्तिष्क शुद्ध हुन्छ । देवी सरस्वतीको सेतो पोशाक बालबालिका निर्दोष मन हो । देवी सरस्वती निर्दोष बालबालिकाकी बुद्धि हुन् । त्यो निर्दोष बुद्धिमा जे-जस्तो पस्यो, बालबालिका उस्तै बन्छन् ।

देवी सरस्वतीको हातमा माला छ । मालाको अर्थ हो – धेरै विद्याहरू छन् । ती सबै विद्याहरू सिक्ने सम्भावना मान्छेमा हुन्छ । तर माला जपेझैँ अत्यन्त एकाग्रतापूर्वक बडो मेहनत गरेर सिक्नुपर्छ पर्छ । जसरी माला बारम्बार जपिन्छ त्यसै गरी विद्या पनि दोहोराएर तेहेर्रयाएर मात्र आउँछ । अभ्यास नगरे विद्या पनि विष सरह नै हुन्छ ।

देवी सरस्वतीको हातमा वीणा छ । वीणाले बालबालिकालाई मनोरञ्जनात्मक तवरले कोमलता पूर्वक पढाउने प्रेरणा दिन्छ । वीणाका तारहरू जटिल हुन्छन् । स्वर तालको ज्ञान नभएकाले वीणा ठीक-ठीक बजाउन सक्दैन । त्यसरी नै पढाउने शिक्षक-शिक्षिकामा कोमलता पूर्वज जटिल विषयहरू बुझाउने कला हुनुपर्छ । कलाकारले मात्र वीणा बजाउँदा अरू मोहित हुन्छन् । सरसता र कला यी शिक्षक/शिक्षिकाका अनिवार्य सम्पदा हुन् ।

देवी सरस्वतीका चार बटा हात छन् । विद्या सिक्नका लागि चारैवर्णलाई समान अधिकार छ त विद्याको स्रोत चारै दिशा हुन्छ । पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट चारैवर्णका मानिसले चारै वेद अर्थात् इतिहास, जीवनकला, गायन तथा विज्ञान (ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेद) प्राप्त गर्नु पर्छ ।

सरस्वती देवीको हातमा पुस्तक छ । पुस्तक को अर्थ हो – हरेक मान्छेले आफूले पढेको विद्या संस्थागत गरेर पुस्तान्तरणको व्यवस्था गर्नुपर्छ । प्राचीन समयमा विद्याको स्रोत श्रुति र स्मृति थिए । आफूले सिकेको विद्या पुस्तान्तरण गर्ने अर्को जन्ममा ब्रह्म राक्षस हुन्छन् भनेर शास्त्रले बताएको छ ।

देवी सरस्वतीको वाहन हंस अर्थात् हाँस हो । हाँसले पानीमा मिसाएको दूध छानेर खान सक्छ । हाँस अर्थात् विज्ञताको सूचक हो । मान्छेले जतिसुकै पढे पनि एउटा विषयमा विज्ञता प्राप्त गरेको हुनुपर्छ । एउटा कुनै विधामा विज्ञता प्राप्त गरेपछि त्यसमा सवार भएर सजिलै जीवन चलाउन सकिन्छ ।

पढ्नुको तात्पर्य केवल भौतिक सुख सुविधा प्राप्त गर्नु मात्रै हुँदैन । यो संसार मात्रै होइन हाम्रो आफ्नो जीवन पनि विनाशवान् छ । त्यसैले कमलको फुलमा पनि टिक्न नसकेझैँ संसारको भोग गर्दागर्दै पनि यससँग निरपेक्ष रहेर मोक्षको साधना गर्नुपर्छ । संसारका सुखमा मरीहत्ते गर्नेहरू मानसिक रूपमा सधैँ अशान्त तथा अस्थिर हुन्छन् । कमलको फूलले पढेलेखेपछि संसारमा बढी अलमलिनु हुँदैन भन्ने सन्देश दिन्छ ।

देवी सरस्वती विद्या, ज्ञान, बुद्धि तथा विवेककी प्रतीक वैदिक देवी हुन् । जब सरस्वती आफैमा महिला रूपमा छिन् भने महिलाका लागि विद्याको ढोका पुरुषभन्दा पहिले खोलिएको हो । आफ्ना छोरी, नातिनी नपढाउनेहरू अधर्मी हुन् र तिनलाई देवी सरस्वतीको श्राप लाग्छ ।

देवी सरस्वती हामी नेपालीहरूले पढ्नु/पढाउनु भन्ने प्रेरणा हुन् । वेदमा देवी सरस्वतीको उपस्थितिले हामी सनातन धर्मीहरू अमृतका सन्तान हौँ भन्ने प्रमाणित हुन्छ । यस्ता अमृतका सन्ततिहरू अनपढ हुनु भनेको पाप हो, अपराध हो ।

सरकार होस् वा नागरिक शिक्षाका सवालमा विदेशीको नक्कल छोडेर आफ्नै मौलिकता अङ्गीकार गर्दै बालबालिकालाई शिक्षा व्यवस्था गर्नुपर्छ । अङ्ग्रेजी पढे विद्वान र नेपाली वा संस्कृत पढे परम्परावादी हुन्छन् भन्ने मूर्खतापूर्ण भ्रमबाट मुक्त हुनुपर्छ । आचार्य कुल, गुरुकुल, ग्रामकुल, कुलगुरू, गुरु शिष्य परम्परा आदि आफ्नै मौलिक परम्पराभित्र रहेर आधुनिक विज्ञानको शिक्षा दिन सकिन्छ । नक्कल गर्ने बाँदर हुन्छन् विद्वान होइन ।

हरेक सरस्वती पूजामा सरस्वती मन्दिरमा गएर विद्या आरम्भ गर्ने परम्परा बढेको देख्दा गर्व लाग्छ तर मन्दिरको भित्तामा देवनागरी (ॐ, अ, आ, क ख) सट्टा A B C D मात्र लेखेको देख्दा मन पोल्छ । यो देशको सरकार, विद्यालय तथा अभिभावकहरूलाई कसैले यो देश नेपाल हो र यहाँका लिपिहरू देवनागरी र शारदा हुन् । अङ्ग्रेजी मातृभाषा भएको इंग्ल्यान्ड हो भनेर कसैले बुझाइदियोस् !!

कमसेकम विद्यालय र अभिभावकहरूले स-साना नानीबाबु हरूलाई अक्षर आरम्भ गर्दा A B C D बाट होइन ॐ, अ, आ, क, ख लेखाएर आरम्भ गरौँ । देवनागरी राम्ररी लेख्न र पढ्न आएपछि मात्र अङ्ग्रेजी आरम्भ गरौँ । आफ्नो जरोकिलो आफूले थाम्ने हो र आफ्ना बालबालिकालाई त्यसको ज्ञान दिने हो । नेपालका रैथाने हिन्दु, जैन, बौद्ध, बोन, किराँती वा धर्म नमान्ने सबैले यसको अनुसरण गर्नुपर्छ ।

असलमा सरस्वती पूजा बालबालिकामा शिक्षाप्रति माया वा अनुराग बढाउने सिद्धान्त हो भने पूजा गरेर “अव मेहनत गरेर पढ्नु पर्छ” भन्ने मनोविज्ञानको विकासका लागि विधिविधानसंग गराइने क्रियाकलाप हो ।

अभिभावक, बालबालिका र देवी साक्षी राखेर समूहमा सम्पन्न क्रियाकलापले पढ्नका लागि ऊर्जा प्राप्त हुन्छ । हाम्रो नौ वर्षीय छोराले स्वेच्छाले भोको बसेर विद्यालयको सरस्वती पूजामा सहभागिता जनायो । उसमा त्यो अनुराग सरस्वती पूजाको क्रियाकलापले निम्त्याएको हो ।

अन्त्यमा, विद्या दान सर्वोत्तम दान हो । विद्यालाई नितान्त कमाइखाने भाँडो बनाउन उचित हुन्न । आज पनि धेरै गुरुहरूले निःशुल्क विद्या दान गरिरहनुभएको छ । उहाँबाट सिकौँ । देवी सरस्वतीको नाम जप्न भन्दा पहिला उहाँको नाम पढ्न र लेख्न सक्ने क्षमताको विकास गरौँ ।