सर्वोच्चमा सुनुवाई हुनु अघि माओवादी घटकहरूको बैठक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सर्वोच्चमा सुनुवाई हुनु अघि माओवादी घटकहरूको बैठक



काठमाडौं- तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए । सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए । उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए ।

आठ दलका नेताले सर्वोच्चको भाषा व्यक्तिगतभन्दा पनि नीतिगत भएको निष्कर्ष निकालेका थिए । उक्त बैठकमा सहभागी आठ दलका नेताहरूले संक्रमणकालीन न्यायका विषयमा आफूहरू एकजुट हुने प्रतिबद्धता जनाएका थिए ।

०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमा आज सुनुवाई हुँदैछ ।