सरकार नभएको मेरो देश ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार नभएको मेरो देश !



-हेमन्त गिरी

विश्वका अन्य देशमा फैलिरहेको कोरोना संक्रमणको तुलनामा नेपालमा फैलिएको कोरोना संक्रमण ज्यादै न्यून हो । मृत्यु त आजको दिनसम्म शून्य नै छ । यस हिसाबले हेर्दा आजका दिनसम्म हामी सुरक्षित नै छौं । सरकारी तवरबाट काम भइरहेको रहेछ भन्ने भान पनि पर्नसक्छ ।
तर सत्य अर्कै छ । नेपालको वर्तमान अवस्था र कोरोनाले निम्त्याउन सक्ने भयावह भविष्यलाई लिएर देशमा बस्नेदेखि विदेशमा बस्ने हामी सबै डराइरहेका छौं । किन होला ?!

बाहिर जे-जे भने पनि हामी धेरैलाई भित्रैदेखि लाग्छ -देशमा सरकार छैन । भए पनि काम नलाग्ने छ ।
त्यसो भए त्यत्रो दुई तिहाईको सरकार के त ? भन्ने प्रश्न आउला !
त्यो केवल सङ्ख्या हो । संरचना हो ।
सरकार भनेको त भावना हो । आश हो । आँट हो । भरोसा हो । जुन कैयौं वर्षदेखि नेपालमा छैन ।

म सरकार विरोधी, प्रतिपक्षी, कुनै डलरवादी वा देशी बिदेशी षड्यन्त्रमा फसेको तत्व भएर सरकारलाई यो आरोप लगाइरहेको छैन । न त सरकर ढलोस भन्ने मनसाय बोकेको मानिस नै हुँ म । म त यो सरकारले जसरी भए पनि पाँच वर्ष काम गर्न पाउनु पर्छ भन्ने मध्येको नागरिक हुँ । यहाँनेर म केवल एक नागरिक भएर खेपिरहेको त्रासदीको गुनासो गरिरहेछु -एक निरीह बालकले आफ्नो अभिभावक भरपर्दो नहुँदा स्कूलमा ‘कम्प्लेन’ गरेझैँ ।

मैले ओली सरकारलाई गाली गर्न खोजें भन्ने अर्थ नलागोस् । नेपाल देशको सरकार नामको ‘बोडी’ जो कहिल्यै आम नागरिकको पक्षमा भएन, मैले त्यसतर्फ इंगित गरिरहेछु । के सधै सरकारलाई गाली गरेर मात्र समाधान निस्किन्छ त ? कदापि निस्किंदैन । तर आपत विपद पर्दा नागरिकले झ्याप्प सम्झिन चाहिं पाउनु पर्छ सरकारलाई ! आ~~ के टेन्सन भयो र, सरकार छँदै छ नि ! भन्ने भावना हर प्रहर, हर मौसम हुनुपर्छ नागरिकको मनमा !

कसैको किड्नी फेल भयो भने पैसा उठाउन नागरिकहरू लागी पर्छन, प्राकृतिक विपत्ति जाँदा सरकार भन्दा पहिला नागरिक पुग्छन् उद्दार र राहत बोकेर, कानूनी बाधा अड्चनबाट दिक्दार भएका नागरिकलाई सरकारले भन्दा अघि बढेर पत्रकारले सहयोग गर्छन, देशका गौरबका आयोजना सरकारभन्दा अघि बढेर कलाकारले निर्माण गर्न थाल्छन् । कुनै पक्षको नभई केवल एक आम नागरिक भएर सोंचौ त, यस्तो कुनै देशमा हुन्छ ? हुँदैन, हुँदै हुँदैन ! हामीले खाने प्रत्येक गास कर तिरेर खाइरहेका छौं, हामीले फेर्ने प्रत्येक सास कर तिरेर फेरिरहेका छौं । अनि कर बुझ्ने सरकारले हामीलाई आजसम्म के कति भरोसा दिलाउन सक्यो ? खोजी गर्नु पर्दैन ?!

यसमा दोष हामी नागरिकको पनि छ । हामीलाई जे पनि सजिलो संग चाहिएको छ । आफूलाई पुगे भयो, छिमेकीको वास्ता छैन,साथीभाई,आफन्तको वास्ता छैन । आफ्नो पहुँचको लागि हामी कुनै न कुनै दल संग आवद्ध छौं- देखिने गरी वा लुकिछिपी । आफ्नो काम जसरी पनि बन्छ अरुको बाल मतलब, हामी यही मानसिकता बाट बाँचेका छौं आज सम्म । यो चेतना भनेको ढुङगे युगको चेतना नै हो । बानर युगको चेतना नै हो । मानव युगको चेतना अलि फरक हुन्छ ।

मानव युगमा त मानवको एउटा भुगोल हुन्छ । एउटा देश हुन्छ । त्यो देश उसको घर हुन्छ । घरको एउटा मुली हुन्छ जसलाई सरकार भनिन्छ । मूलीले घरको र परिवारको रक्षा गर्छ । आफूले नसके सहयोग माग्छ । परिवारका सदस्यले बिना पूर्वाग्रह सहयोग गर्छन् । मूलीले काखा र पाखा गर्दैन । सदस्यहरूले आफूलाई मूलीको छत्रछायाँमा सुरक्षित महसूस गर्छन् । रोग ब्याधि, अकाल र विपदहरूमा मूलीले योजना बनाउँछ, सदस्यले साथ दिन्छन् । मूली जिम्मेवार हुन्छ, तब एउटा घर घर जस्तो हुन्छ । सरकार जिम्मेवार भएमा नै देश देश जस्तो हुन्छ । हामीकहाँ त्यस्तो युग आउन अझै कति समय लाग्ला ?!

यी सब कुरा यसकारण निस्के कि सरकारले लकडाउन सुरु गरेको महिनौ बितिसक्दा पनि नागरिक विस्वस्त हुनेगरी कुनै काम गर्न सकेको छैन । किन गरेको छैन त भन्दा गर्नु जरुरी नै छैन । सक्नेले फोन घुमाउँछन, चाकडी गर्छ, नसक्नेहरू बाँचुन कि मरून के मतलब । सरकारमा जाने मानिसहरूले नागरिकलाई भोट ब्याङक मात्र ठान्छन्, नागरिक ठान्दैनन्, परिवारका सदस्य ठान्दैनन् । जसलाई सरकारको थोरै भए पनि संरक्षण पुगेको छ, उनीहरू सब ठीकठाक छ भने झैं गरी लेख्न दिनरात लागिपरेका छन् । जसको दैनिक काम नगरी चुलो नै बल्दैन उनीहरू लकडाउन उल्लंघन गर्न बाध्य छन् । सरकार तथा सदनका मानिस चाहिं सत्ता पल्टाउने र बँचाउने खेलमा नै व्यस्त छन् । परदेश बसेर हेर्दा यती डरलग्दो अवस्थाको देश मैले नेपाल बाहेक अर्को देखेको छैन ।

डर देखाएको हैन । कसम, विदेशबाट हेर्दा नेपालको सिस्टम ‘किच्चड’ जस्तो देखिन्छ, सगरमाथा र बुद्धको गीत मात्र गाएर देश बन्ने भए त उहिलै बनिसक्थ्यो । मैले यसरी लेखिरहँदा त्यही व्यक्तिलाई बढी रीस उठ्छ, जसले प्रत्येक पटक सत्तासंग पहुँच पुर्याइ आफूलाई पुग्ने कमाएको छ वा कमाउने बाटोमा छ । त्यही व्यक्तिलाई रीस उठ्छ जसको कैयौं पुस्तालाई पुग्ने सम्पत्ति सुरक्षित छ र आफू आजीवन दलदास छ ।

अब पहुँचविहीन आम नागरिकले गर्ने के त ? नेपालमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिने संकेत देखिन थालेको छ । यस्तो बेला तपाईं हामीले आफै सुरक्षित हुने उपाय अपनाउनुको विकल्प छैन । सधै तकदिरलाई दोष दिँदै नियतिलाई स्वीकारिरहेका हामीले यसपटक पनि सोंचौ -सत्ता भेन्टिलेटरमा सुतिरहेको छ, सत्तालाई कोरोना लागिसकेको छ, अब सत्ताबाट हामीले आफूलाई जोगाउनु छ । स्टे सेफ !