सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने



काठमाडौं ,साउन १० ।

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट श्रममन्त्री फरमुल्लाह मन्सुरले संसद्मा सो विधेयक पेस गरेका हुन् । विधेयकमा राष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र उपराष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ८ हजार ३० रुपैयाँ प्रस्ताव गरिएको छ ।

अाजको राजधानी दैनिकमा खबर छ– त्यस्तै पोसाक सुविधाबापत राष्ट्रपतिलाई प्रतिवर्ष २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँ दिने उल्लेख छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई स्वेदश भम्रणका लागि दैनिक ३ हजार ३ सय र विदेश भ्रमणमा दैनिक २ सय ५० अमेरिकी डलर भत्ता दिन प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतले गरेका कामकारबाहीको विषयमा अदालतमा मुद्दा दायर गर्न नपाउने प्रावधान पनि राखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतमा सम्पादन गरेका कामका विषयमा पदमा बहाल रहँदा वा निवृत्त भएपछि कुनै अदालतमा मुद्दा चलाउन नपाइने उल्लेख गरेको छ ।

संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐनबमोजिम हुने भनिए पनि संविधान जारी भएको २२ महिनापछि सरकारले सुविधासम्बन्धी विधेयक संसद्मा टेबल गरेको हो ।