ओली सरकारलाई अप्ठेरोमा धकेल्ने माओवादीकाे तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओली सरकारलाई अप्ठेरोमा धकेल्ने माओवादीकाे तयारी



काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन्। यी सबै प्रतिनिधिसभा सदस्य हुन्।

माओवादी स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देव गुरुङले उनीहरू एमाले प्रवेश गरेका कारण दल त्याग गरेको सूचना पठाएको बताए। ‘दल त्याग गरेपछि सोही सूचना संसद् सचिवालयमा पठाइएको हो’, उनले भने। माओवादीले दल त्यागसम्बन्धी सूचना संसद् सचिवालयमा दिएपछि सहरी विकासमन्त्री साहले एमालेको समेत भोट पाएर जितेका सांसदलाई दाहाल वा माओवादीले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।

‘चुनाव जित्न एमालेसँग एकता/सहकार्य गर्ने, तत्कालीन नेकपा अध्यक्ष हैसियतमा सर्वोच्च अदालतमा पुनरवलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन’, मन्त्री साहले भने। यसअघि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापालगायत नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए। ओली नेतृत्वको

सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएका थिए। अविश्वास प्रस्ताव ल्याउन नसकेपछि केही दिनयता माओवादीले फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् पार्टीमा फर्काएका कारण अल्पमतमा परेका ओली आफैंले विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ।

प्रधानमान्त्री ओलीले भने अविश्वासको प्रस्ताव ल्याए राजीनामा दिने बताएका छन्। प्रधानमन्त्री निकट सांसद गोकुल बाँस्कोटाले पनि अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए भैगो नि, अन्य पार्टीमा प्रवेश गरेका नेताहरूलाई कारबाही गरेर किन तर्साउने रु’ बाँस्कोटाले भने।

माओवादीले पार्टी विधान उल्लंघन गरेको भन्दै एमालेमा पसेका नेता तथा सांसदलाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो। माओवादीले एमालेमा प्रवेश गरेका रामबहादुर थापासहित २३ नेतालाई स्पष्टीकरण सोध्दै पार्टीमा फर्कन आग्रह गरेको भए पनि उनीहरू फर्केका छैनन्।

ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक राखेर माओवादीबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। गृहमन्त्रीसमेत रहेका थापालाई भने ओलीले वाग्मती प्रदेशको इन्चार्जसमेत बनाएका छन्। त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाएको हो।

पार्टीले संसद् सचिवालयमा दल त्याग गरेको सूचना पठाएपछि सांसद पदसमेत जान्छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार माओवादी संसदीय दलले एमालेमा गएर मन्त्री भएकाहरूलाई कारबाही गर्न थालेको हो। पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद् सचिवालयमा पठाएपछि सांसद पद रिक्त हुने व्यवस्था छ। माओवादीले उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाएपछि ओलीले पनि पार्टीभित्र अनुशासनको कारबाही गर्ने बाटो खुलेको छ।

एमालेभित्र माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले समानान्तर कमिटी बनाइरहेका छन्। ओलीले नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। माओवादीले एमाले प्रवेश गरेका आफ्ना सांसदलाई दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएपछि ओलीले पनि नेपाल समूहका केही सांसदलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको सूचना संसद् सचिवालयमा दिने र सांसद पदबाट हटाउन सक्ने सम्भावनासमेत बढेको छ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरी त्यसमा एकीकृत एमाले र माओवादीलाई अलगअलग गराए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिने तयारी भए पनि ओलीविरुद्धको गठबन्धन बनिनसकेको र जनता समाजवादी पार्टीले कसलाई समर्थन गर्ने निर्णय नगरिसकेको अवस्थामा फिर्ता लिन असहज भएको माओवादी नेता बताउँछन्।

‘अहिलेको अवस्थामा परिस्थिति परिपक्व भएको छैन परिस्थिति परिपक्व भएपछि अविश्वासको प्रस्ताव पनि आउनेछ, समर्थन पनि फिर्ता लिइनेछ,’ माओवादी स्थायी कमिटी सदस्य एवं सचेतक गुरुङले भनेको नागरिकमा टपेन्द्र कार्कीले लेखेका छन्।