भोलिदेखि सरकारी खर्च बन्द, अब के हुन्छ ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भोलिदेखि सरकारी खर्च बन्द, अब के हुन्छ ?



काठमाडौं- ३० भदौबाट सरकारले खर्च गर्न नपाउने भएको छ । तोकिएको समयमा बजेट पास नभएका कारण सरकारले खर्च गर्न नपाउने भएको हो ।

अध्यादेश मार्फत १५ जेठमा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७८/७९ को बजेट ३ साउनमा प्रतिनिधि सभामा पेश भएको थियो । त्यसअघि राष्ट्रिय सभामा १७ असारमा पेश गरिएको थियो । 

अध्यादेशले मान्यता पाउनको लागि दुईमध्ये एक सदनमा पछिल्लो पटक पेश भएको ६० दिनभित्र पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्छ । प्रतिनिधि सभामा पेश भएको अध्यादेशको समयावधि ३० भदौमा पुग्दैछ । तर, प्रतिनिधि सभाको बैठक ४ असोजसम्मको लागि स्थगित भएको छ । 

सरकारले विनियोजन विधेयक–२०७८ लाई नियमित प्रक्रियाबाटै पास गर्ने जनाएको छ । बजेट पारित नभएको समयमा खर्च गर्नको लागि पेश्की विधेयक ल्याउने विकल्प भए पनि सरकारले ल्याएन । यसको परिणाम सरकारी कोषको नियमित र आकस्मिक खर्च केही समयलाई रोकिने छ । 

२९ भदौको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले समयमै बजेट पारित नभएका कारण केही दिन सरकारी खर्च गर्न नमिल्ने बताए । उनले भने, “केही दिन सरकारी खर्च गर्न नमिल्ने हुनसक्छ, तर यसले ठूलो प्रभाव पर्दैन ।” 

केही दिनको बजेट ‘होलिडे’ ले सामान्य प्रभाव परे पनि मुलुक ठप्प चाहिं नहुने जानकारहरू बताउँछन् । पूर्व अर्थसचिव शंकर अधिकारीले नियमित खर्च रोकिंदा अत्यावश्यक खर्च गर्नुपर्ने अवस्था आए मुलुक संकटमा पर्ने बताए । “केही दिनको नियमित खर्च जसरी पनि चल्छ, यसमा समस्या पर्दैन” उनले भने, “तर, बाढी, पहिरो लगायत ठूलो प्राकृतिक प्रकोप आयो भने मुलुकमा संकट देखिन सक्छ ।” महामारीको समयमा बजेट खर्च रोकिंदा स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्रमा पनि समस्या देखिन सक्ने उनको भनाइ छ । 

सरकारी कोष खर्च गर्न रोकिए पनि यो बीचमा राजश्व संंकलन भने हुनेछ । आर्थिक विधेयक संसद्‍मा पेश भएकाले सामयिक कर असुली ऐन प्रयोग गरेर कर संकलन हुनेछ । यो अवधिमा विनियोजन विधयेकमा परिर्वतन भएको कर भने संकलन गर्न नपाइने अधिकारीले बताए । 

बजेट ‘होलिडे’ले ठेक्का लागेका आयोजनाको काममा असर गर्दैन । तर, खरीद गरेको सामग्रीको भुक्तानी गर्न मिल्दैन । सरकारी कोषबाट हुने रासनपानीको खर्च ठेकेदारसँगको समझदारीमा चल्न सक्छ ।