सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण



सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको पाइएको छ । पेशाले पत्रकारीता गर्ने उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड हुँ’ भन्दै व्यापारीसँग रकम मोलमोलाई गरिरहेको अडियो हिमालपोस्टलाई प्राप्त भएको छ ।

हामीले प्राप्त गरेको अडियोमा राससमा काम गर्ने एक पत्रकार शंकर पहाडी उर्फ (एसपी गौरव)ले ईन्दल नाम गरेका एक व्यापारीलाई फोन मार्फत प्रहरीको नाम लिँदै बार्गेनिङ्ग गरेका छन् । स्थानीय मधेशी भाषामै संवाद गरेका उनले आफू शसस्त्र प्रहरी मधेश प्रदेशको डिआईजीको बडीगार्ड भनेर परिचय दिएका छन् । भने न्युज २४ का रिपोर्टर रितिक अधिकारी समेत यसमा संलग्न रहेको भेटिएको छ ।

रोचक त के छ भने, यी दुवै पत्रकार माओवादी निकट प्रेस संगठनका जिल्ला नेता हुन् । माओवादी निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष शंकर पहाडी र रितिक अधिकारी(रमेश) जिल्ला सचिव भएको समेत खुलेको छ । उनीहरूले लामो समयदेखि यसरी नै स्थानीयलाई त्रसित बनाउने गरेको र स्थानीय केहि नेताहरूले उनीहरूको संरक्षण गरिरहेको बताइन्छ ।

त्यस्तै प्राप्त अडियो रेकर्ड अनुसार उनीहरुले लालबन्दीका ठाउँठाउँमा व्यापारीलाई भेट्न बोलाएका छन् । कहिले प्रहरीको बडीगार्ड त कहिले पत्रकारको नामबाट उनीहरूले सर्लाहीका विभिन्न सिमा नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न समान भित्राउने व्यापारीहरुसँग रकम असुली गरिरहेको स्थानीयसँग गुनासोका पोका छन् ।

स्थानीय ब्यापारी र प्रहरीले गरेको गुनासोका आधारमा खोज्दै जाँदा हामीलाई प्राप्त भएको सूचना र अडियोबाट सरकारी समाचार माध्यम राष्ट्रिय समाचार समिति (रासस) मा जिल्लाबाट काम गर्ने पत्रकार शंकर पहाडीले ब्यापारीलाई फोन गरेर बार्गेनिङ गरेको खुल्छ । उनले सगरमाथा टिभिमा समेत काम गर्नेगरेको खुलेको छ ।

शंकर पहाडीसँगै न्युज २४ का रिपोर्टर रितिक अधिकारीसमेतको संलग्नतामा असुली धन्दा मच्चाएको भेटिएको देखिन्छ । उनीहरूले प्रहरी, रासस, न्युज २४, तथा सगरमाथा टिभिको समेत नाम दुरुपयोग गरेर उनीहरूले असुली धन्दा चलाएको पिडितहरूको गुनासो छ । जनताका गुनासा, सूचना र जनताका समस्याबारे आवाज उठाउने पत्रकारले नै विभिन्न नाममा व्यापारी र अन्यलाई धम्क्याएर पैसा असुली गरिरहेको भन्दै पहिलेदेखि नै स्थानीयले गुनासो गर्दै आइरहेका थिए ।

हामीलाई प्राप्त अडियो र सूचना अनुसार पहाडी र प्रेस सेन्टर नेपालकै जिल्ला सचिव रितिक अधिकारी(रमेश)ले व्यापारीहरुलाई फोन मार्फत धम्क्याएर हप्ता असुली शैलीमा बार्गेनिङ गरिरहेका छन् ।

राससका प्रतिनिधि गौरव र अर्का पत्रकार अधिकारीले व्यपारीसँग अवैध रकम मागेको ७ वटा अडियो हामीलाई प्राप्त भएको छ । एउटा अडियोमा इन्दल नाम गरेको व्यापारीसँग गौरवले आफु डिआएजीको बडिगार्ड हो भन्दै पुकार, सरिता, संतोष, बिजय लगायत चार पाँच जना व्यापारीहरुले अवैध कारोवार गरेको भन्दै रकम मागेको सुन्न सकिन्छ । जवाफमा व्यापारीले आफु सानो व्यपारी भएको भन्दै गुनासो गरिरहेका छन् ।

पत्रकार गौरवले व्यापारी इन्दललाई गरेको फोनमा तपाईहरुको ठूलो गिरोह हो र सर्लाहीको बजारमा इन्दल, पुकार, सरिता, संतोष बिजय लगायतका व्यापारीहरुको अवैध सम्मानहरु छ्याप्छ्याप्ती भएको छ, यो सबै सशस्त्र प्रहरीमा जानकारी आएको छ’ भन्दै बार्गेनिङ गरेका छन् । अबैध सामान भित्र्याएबापत रकम नबुझाए प्रहरी खटाइ उक्त सामान जफत गरिने गौरवले व्यापारीसँग बताएका छन् ।

‘कपडा, चिनि, लगायत विभिन्न सामग्रीहरु कुन-कुन नाकाबाट भित्रिएको छ, त्यो सबै हामीलाई जानकारी छ’ स्थानीय भाषामा गौरवले व्यापारीसँग भनेका छन् । ‘इन्दलजी तपाइको नाम डिआइजी साहेबको डायरीमा एक नम्बरमा छ, हामीलाई सबै जानकारी आएको छ । हाम्रो नाम दुरुपयोग गरी काम गर्ने भन्दै उनले बार्गेनिङ गरेका छन् ।

अर्को अडियोमा न्युज २४ का रिपोर्टर अधिकारी तिनै व्यापारीसँग कुरा गरेको सुनिन्छ । अडियोमा आफु इन्दल बोलेको भन्दै लालबन्दी नगरपालिका स्थित रहेको त्रिभुवन कपडा पसलमा आउनु भनेको सुनिन्छ । जवाफमा पत्रकार अधिकारीले आफु पनि लालबन्दी बजारमा मै भएको बताउँछन् । दुबै जनाको संवादले व्यापारीले त्रिभुवन कपडा पसलमा आएर पत्रकार अधिकारीलाई पैसा लिन बोलाएको जस्तो बुझिन्छ ।

सोहि अडियोमा पत्रकार अधिकारी कपडा पसलमा आउन नमानेपछि बिनय दाइको भाडा पसलमा ब्यापारी इन्दलले आउन भनेका छन् । फेरि पत्रकार अधिकारीलाई शिवचन्द्र कपडा पसलमा बोलाएका छन् । अधिकारीले आफु त्यो कपडा पसलवालालाई नचिनेकोले त्यो ठाउँमा आउन नसक्ने बताएका छन् । अडियो सुन्दै जाँदा अधिकारीले ‘तपाइको मान्छे आएको छैन भन्दै व्यापारीलाई बताएका छन् ।

एउटा पत्रकार जसले सत्य सूचना र जनताका समस्याको सही उठान गर्नुपर्ने हो, उसैले प्रहरीको समेत नामको दुरुपयोग गर्दै बार्गेनिङ गर्ने, रकम उठाउने जस्ता कार्यले सिङ्गो पत्रकारीता कै बदनाम गराएका छन्।

बागमतीका मेयरको संरक्षण

हिमालपोस्टले केहि समय अगाडी सर्लाहीको बागमती नगरपालिकामा भएका अनियमितता र मेयरको दादागिरीको विषयमा धमाधम समाचार प्रकाशन गरेपछि मेयरका विरुद्ध समाचार नलेख्न भन्दै संस्थाको लेटरप्याडको दुरुपयोग गरी अनियमितता विरुद्ध लेख्ने पत्रकारलाई नै धम्कीपूर्ण विज्ञप्ति निकाल्ने शंकर पहाडीले अनियमितता गरेको आरोप लागेका मेयरको गुणगान गाउँदै पत्रकारलाई फोन समेत गरेका थिए ।

आफूलाई ठुलो पत्रकार भएको परिचय दिने शंकर पहाडीलाई बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र केही माओवादी नेताहरूले संरक्षण गरेको स्थानीय बताउँछन् । संस्थाको नाम दुरुपयोग गरेर अनियमितताको समाचार लेख्ने पत्रकारविरुद्ध विज्ञप्ति निकालेपछि उनीहरूबारे प्रेस संगठनका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगललाई बुझ्दा उनले त्यहाँको मेयरले ती पत्रकारहरूलाई परिचालन गरेको हुनसक्ने बताएका थिए ।

पहाडी र अधिकारी नाता पर्ने स्थानीय बताउँछन् । उनीहरूले जिल्लाका दक्षिणी क्षेत्रमा प्रहरीहरुसँग समेत पैसा मागेर हैरान गर्ने गरेको प्रहरी स्रोत बताउँछ । कतिलाई प्रहरी बनेर त कतिलाई पत्रकार बनेर उनीहरुले व्यापारीहरुसँग पैसा असुल्ने गरेको बताइन्छ । त्यतिमात्रै होइन उनीहरुले जिल्लाका व्यापारी, क्रसर उद्योगी, शिक्षक तथा नेताहरुलाई समेत पैसा माग्ने गरेको गुनासो छ।  उनीहरुले सबैलाई पैसा मागेर हैरान गर्ने गरेको स्थानीय व्यापारीहरुले बताए ।

सिन्धुली घर भएका पहाडी सुरुमा स्थानीय ढुकढुकी एफएममा काम गर्थे । त्यसपछि उनी रेडियो छोडेर विप्लप माओवादीमा लागेका थिए । विप्लप नेकपामा हुँदा पनि उनकाबारे गुनासो आउने गरेको बताइन्छ । सिन्धुलीका क्यानेश्वर एरियामा सानातिना व्यापारी र स्थानीयलाई समेत उनले दुःख दिएको गुनासो आएको पार्टीका एक नेताले बताए ।

त्यसपछि सर्लाहीमा गएर पुनः ढुकढुकीमै काम गरेका गौरब त्यसपछि कमलामाई नामक पत्रिका र अनलाईन चलाउन थालेका छन् । केही माओवादी नेताहरुको बलमा उनी राससमा जिल्ला प्रतिनिधि भएर काम गर्छन् । तर राससकै नाम भजाएर जिल्लामा सबैलाई त्रसित बनाउँछन् ।