सार्वजनिक जग्गा अतिक्रमण गर्ने नेकपाकै भए पनि हामी जोगाउँदैनौँ :मन्त्री पोखरेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सार्वजनिक जग्गा अतिक्रमण गर्ने नेकपाकै भए पनि हामी जोगाउँदैनौँ :मन्त्री पोखरेल



काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताउनुभयो ।

“सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ”, उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्छ ।” उपप्रधानमन्त्री पोखरेलले मन्दिर बनाउने बहानामा खाली ठाउँ मास्ने क्रम अझै नरोकिएको बताउनुभयो ।

उहाँले सरुवा र बढुवाका काम लिएर आफूसँग नआउन आग्रह गर्दै विकास निर्माणका कामका लागि आफू जति बेला पनि तयार रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिले पार्टीसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने भन्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रदानमा ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले क्षेत्र नं ५ को विकासका लागि सबै जनप्रतिनिधिबीच एकता र समन्वयको खाँचो रहेको औँल्याउनुभयो । उहाँले कानूनको अभावमा सङ्घ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रमा अलमल देखिए पनि कानूनले पूर्णता पाएपछि छिट्टै समस्या हट्ने बताउनुभयो ।

विकास निर्माणमा बाधक बनेको सार्वजनिक खरीद ऐनलाई बदल्न लागिएको भन्दै उहाँले ऐन संशोधन गरेपछि विकास निर्माणका काममा हुने गरेका अवरोध हट्ने विश्वास दिलाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा एकीकृत विकासको योजनालाई अघि सारिएको बताउनुभयो । “उपत्यकाको विकासका साझा एजेण्डालाई पहिचान गर्दैछौँ” उहाँले भन्नुभयो, “उपत्यका नगरपालिका फोरम बनाएर काम गर्दैछौँ, त्यसको नेतृत्व मैले गरेको छु ।” पाँच वर्षमा हुने विकासलाई एकै वर्षमा देख्न खोजेर नहुने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य नारायण सिलवालले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित भएको बताउनुभयो । प्रदेशसभा सदस्य दीपक निरौलाले वर्तमान सरकारबाट नागरिकले धेरै आशा गरेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा विकास निर्माणमा भएको प्रगति तथा समस्याबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बूढालीनकण्ठ नगरपालिकाका प्रमुख उद्धवबहादुर खरेल, उपप्रमुख रमा राई, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष मोहन विष्ट, ३ का वडाध्यक्ष दीपक केसी, बूढालीकण्ठ–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, ५ का वडाध्यक्ष विजय तामाङ, ७ का वडाध्यक्ष वसनारायण महर्जन, टोखा–४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ५ का वडाध्यक्ष जगन्नाथ ढकाल, ७ का वडाध्यक्ष नरोत्तम रानालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । –रासस