सर्वोच्चमा ट्वीस्ट: 'विद्रोही' न्यायाधीशहरू एकाएक जबराको पक्षमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सर्वोच्चमा ट्वीस्ट: ‘विद्रोही’ न्यायाधीशहरू एकाएक जबराको पक्षमा



काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर अदालत ठप्प पारेका बेला केहि न्यायाधीशहरूले भने विभाजित भएका छन् । बारले बोलाएको छलफलमा सर्वोच्चका पाँच न्यायाधीश सहभागी नभएर जबराको पक्षमा भएको संदेश दिएका छन् ।

यस्तै बार एशोसिएसनले भने न्यायाधीशहरुलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबाहेकका सहमति बारलाई मान्य नहुने जानकारी दिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै गत ८ गतेदेखि आन्दोलनमा रहेको बारले गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्ने भन्दै सर्वोच्च्को मूल गेटमा धर्ना दिइरहेको छ ।

प्रधानन्यायाधीशले न्यायालयमा सुधारको नाममा न्यायाधीशहरु फूटाउन लागेको भन्दै बारले न्यायाधीशहरुलाई राजीनामाबाहेकका कुनै पनि सहमति नमान्ने भन्दै पत्र पठाएको थियो ।

सोमबार बारको प्रतिनिधिमण्डलले पुनः न्यायाधीशहरुसँग भेट गरी राजीनामाबाहेकका कुनै पनि सहमति नमान्न ध्यानाकर्षण गराएको हो ।

“हामीले प्रधानन्यायाधीशको राजीनामा बाहेकमा सहमति मान्य हुँदैनन् भनेर न्यायाधीशहरुलाई जानकारी गराएका छौँ,” नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले भने, “उहाँहरुले आपसि छलफल गर्ने भन्नुभएको छ ।”

बारले न्यायाधीशहरुको धारणा बुझ्न मंगलबार पनि समय लिएको छ । न्यायाधीशहरुले आवश्यक छलफल पछि सवा १२ बजे बारका प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् ।

बारसँगको छलफलमा सर्वोच्चका पाँच न्यायाधीश भने सहभागी भएनन् । उनीहरु इजलासमा भएकाले पछि आउने भनिए पनि दुईदेखि चार बजेसम्म चलेको छलफलमा सहभागी हुन नगएको बताइएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल सामूहिक छलफलमा छैनन् । उनीहरु मंगलबारदेखि नियमित काममा फर्किने तयारीमा रहेको स्रोतले जानकारी दियो ।

आफूहरु इजलासमा नबस्दा जनतालाई समस्या परेको भन्दै मंगलबारदेखि इजलासमा फर्किने तयारीमा रहेको स्रोतले जानकारी दियो ।