सर्वोच्चको न्यायाधीशमा केसी र भण्डारी अनुमोदित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सर्वोच्चको न्यायाधीशमा केसी र भण्डारी अनुमोदित



काठमाडौँ, माघ १८ गते ।

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ ।  सुनुवाई समितिले न्याय परिषद्को सिफारिस अनुसार प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम सुनुवाईपछि सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि अब उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।  नियुक्त भएसँगै पद तथा गोपनीयताको शपथग्रहणपछि उहाँहरूले कार्यभार सम्हाल्नुहुनेछ ।  अब सर्वोच्चमा रिक्त न्यायाधीश सङ्ख्या एक रहेको छ ।  संसदीय सुनुवाईका क्रममा दुवै प्रस्तावित न्यायाधीशले अदालतको स्वतन्त्रता र न्यायिक विश्वसनीयता कायम गर्र्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  अदालतमा अनियमितता भए पनि त्यसलाई न्यूनीकरण गर्न आफूहरूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश केसीले न्यायिक स्वतन्त्रतामा विश्वास राखी कार्यसम्पादन गर्ने बताउनुभयो ।  उहाँले न्यायमा सबैको समान पहुँचका लागि आफूले प्रयास गर्ने बताउनुभयो ।  यस्तै न्यायाधीश भण्डारीले न्यायिक स्वतन्त्रतामा सम्झौता नगर्ने बताउनुभयो ।  उहाँले न्यायमा पहुँचका लागि प्रयास गर्ने बताउनुभयो ।  तथ्य र प्रमाणका आधारमा न्याय सम्पादन हुने भन्दै उहाँले दबाब र प्रभावबाट न्याय सम्पादन नहुने बताउनुभयो ।

प्रस्तावित दुई न्यायाधीशविरुद्ध तीनवटा उजुरी परेका थिए ।  एक सैद्धान्तिक उजुरी थियो भने दुवै न्यायाधीशविरुद्ध एक÷एक उजुरी परेका थिए ।  केसीविरुद्ध नवलपरासी जिल्ला अदालतमा रहँदा वन कार्यालयको क्षेत्राधिकारको मुद्दा जिल्ला अदालतबाट आदेश गरी प्रतिवादीलाई सफाइ दिएको आरोप थियो ।

यस्तै न्यायाधीश भण्डारीले सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविरुद्ध मुद्दा फैसला गरेको आरोप लागेको थियो ।  समितिले गत शुक्रबार उजुरीकर्तासँग पनि छलफल गरेको थियो ।  सो छलफलपछि समितिले सोमबार न्यायाधीशको सुनुवाई गरेको हो ।  न्याय परिषद्को पुस १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश केसी र उच्च अदालत पोखराका मुख्य न्यायाधीश भण्डारीको नाम सिफारिस गरेको थियो ।

गोरखापत्रबाट