शासन, भाषण , र रासन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

शासन, भाषण , र रासन



ई. डम्बर बहादुर सुनार

कुनै समय सुन्दर शान्त राष्ट्र को होला भन्दा विश्व जगतमा सबै मुलुकहरूले नेपालको नाम लिने गर्दथे । अंग्रेजहरुको शासनको दास नभएको मुलुक भनेर अरू मुलुकहरूले हाम्रो देशलाई दृष्टान्त बनाउदै गर्दा हामी नेपालीको गर्वले सिर ठाडो हुन्थ्यो। विश्वको हरेक कुनामा नेपाली हु भन्दै गर्दा वीर गोर्खाली भनेर सम्मानको भागेदार हुन्थे नेपालीहरू । वीर गाथाले भरिएको हाम्रो गर्बिलो इतिहास र चार जात र छत्तिस वर्णको साझा फुलबारी भनेर अर्थ्याइएको हाम्रो मुलुकको राष्ट्रिय अखण्डता, स्वाधीन र स्वतन्त्रता, सार्भभौमिकता, सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्त नेपालको परिचय नै विश्व सामु एउटा नमुना बनेको थियो । यो इतिहास आज हामीले रट्टा मारिरहने अवसर जुन प्रदान भएको छ यो सबै हुनुमा हाम्रा वीर सहिदहरु जसले आफ्नो ज्यानको प्रवाह नगरी राष्ट्र र राष्ट्रियताको निम्ति आफूलाई हासी हासी उत्सर्ग गर्नुभयो । जति बेला नेपाल आमालाई आफ्ना सपुत हरुको आवश्यकता थियो त्यो बेला ती महान् सहिदहरुले आफू नेपाल आमाको सन्तान हु भन्ने कुरा बिर्सेर गैरजिम्मेवार ढङ्गले पराधिनको नीतिलाई अवलम्बन गरेको भए साएद आजको दिनमा हामी नेपाली जनताले कुनै अरू नै मुलुकको नागरिकको परिचय बोकिरहेका हुने थियौ ।

सलाम छ ती सबै नेपाली सपुतहरुलाई जसले आफ्नो जीवनलाई नेपाल आमाको रक्षाको निम्ति आहुति दिए र अखण्ड र स्वाधीन नेपालको नागरिक हुने सुवर्ण हक प्रदान गर्नु भयो । तपाईहरु मरेर नि बाचिरहनु भएको छ तर यहाँ अहिले नेपाल आमाका कुपुत सन्तानहरु बाचेर नि मरिरहेका छन् । राष्ट्रको अस्मिता दिनानुदिन पराधिनताको एम्बुशमा थापिरहेका छन् । नेपाली हुनुको अर्थलाई अर्थहीन बनाईराखेका छन् । ती तमाम सहिदहरुले बगाएको रगतको मूल्यलाई अबमुल्यन गरिरहेका छन् । पौरखी जनताको आत्मसम्मानलाई परराष्ट्र सँग बेचिरहेका छन् । रामको राज्यमा जन्मेका नेपाली चेलीहरुलाई रावणको राज्यमा बेचिरहेका छन् । नेपालसँग भएका बिलक्षण प्रतिभा भएका कुमुद धिताल र लुजेंद्र ओझा जस्ता नेपाली नागरिकले अरूको राष्ट्रलाई विश्व सामु चिनाउन बाध्य भएका छन् । कुमुद धितला तिनै व्यक्ति हुन जसले सन २०१४ अक्टोबरमा अस्ट्रेलियामा पहिलो पटक मनिसको मुटु सफल प्रत्यारोपण गरेका थिए जुन ब्याक्ती नेपाली मूलका हुन । त्यसै गरी २१ वर्षाका लुजेन्द्र ओझा तिनै व्यक्ति हुन जसले पहिलो पटक मङ्गल ग्रहमा पानी छ भन्ने कुरको आविष्कार अगस्त २०११ मा गरेका थिए जुन व्यक्ति पनि नेपाली थिए । त्यसै गरी विश्वमा थुप्रै नेपाली मूलका मन्छेहरु छन् जसले बहिरी मुलुकमा तरक्की गरेका छन् ।

हाम्रो मुलुक अहिले शासन, भाषण , र रासनको त्रिकोणात्मक चक्रभ्युमा फसेको छ । यी तिन ओटा कुरा हरुको सही व्यवस्थापन हुन नसक्दा मुलुकको परिचय फेरिएको छ। कुनै बेला युद्धमा जित प्राप्ति गर्नका निम्ति नेपाली गोर्खा सेनाहरुको मद्दत माग्ने गर्दथे विश्वका अरू मुलुक तर अहिले नेपालबाट सस्तो कामदार पाइन्छ भन्दै नेपालबाट जनशक्ति बाहिर लगिन्छन ।सन् २०१५ को UNDP को एउटा रिपोर्टमा उल्लेख भए अनुसार त्यो वर्षमा मात्रै १४,७५,६९२ जना युवाहरू बिदेशिएका रहेछन् । जस मध्ये उच्च शिक्षा अध्ययनको लागि मात्र २८,३६२ जना युवती र ९४,३४३ युवाहरू देशभन्दा बहिरीएका रहेछन् । रोजगारीका लागि ६५,१६३ महिला र १२,८७,८४२ पुरुष हरू बिदेशिएका रहेछन् । नेपालका अदुर्दशी भाषण र शासन गर्ने नेताहरूको कर्मले गर्दा नेपालका तमाम युवाहरू राशनको खोजीमा खाडी मुलुकमा जीवन र मरणको दोशाधमा सङ्घर्ष गर्दै छन् । शान्ति प्रक्रिया पछि मात्र नेपालबाट बिदेशिएका युवाहरूको सङ्ख्या हेर्ने हो भने ३७ लाख भन्दा बढी भएको छ ।

जीवन रक्षाको लागि गास, बास, र कपास आधारभूत कुराहरूमा लग्ने गरिन्छ, जब यी कुराहरू नेपालमा आर्जन र व्यवस्था गर्न गाह्रो हुन्छ अनि विकल्पको रूपमा नेपालका युवाहरू बिदेशिन बाध्य हुन्छन् । ब्यवाश्य सुरु गर्नको लागि प्रयाप्त रकम हुँदैन यदि लगानी गरी हाल्यो भने पनि त्यो लगानी को सुरक्षा को ग्यारन्टी पनि हुँदैन जसले गर्दा नेपालको युवा जनशक्ति रासनको खोजीमा विदेशमा जान बाध्य हुन्छन् । नेपालमा राशनको यापन गर्ने उक्ति थुप्रै छन् तर नेपालका युवाहरूलाई त्यतातिर आकृष्ट गर्न नसक्नाको परिणाम हो विदेश । आधुनिक कृषि प्रणालीको विकास नहुनाले देशको उत्पादनमा ह्रास आइरहेको छ जसका कारण नेपालले हरेक खाद्दान्न वस्तुहरू रु. १२७.५१ बिलियन बराबरको बर्सेनि हाम्रो देशमा आयात गर्नु पर्ने बाध्यता छ । रोजगारको उचित सम्मान र अवसर नभएको हुनाले नेपालका युवा जनशक्तिहरु बिदेशिन बाध्य हुन्छन् । नेपालको युवा शक्ति जसलाई देशको विकास निर्माणमा प्रयोग गर्नु पर्ने थियो त्यो जनशक्तिलाई हाम्रा नेताहरूको झुटो आश्वासन र “तुक नभएको भूक” मा मात्र अल्झ्यिरहेका छन् । जनशक्तिलाई खालि राष्ट्रको राजनीतिक गतिविधिमा मात्र संग्लनाता बनाएर कहिले आन्दोलनमा अनुबन्धित गर्छन्, कहिले सभा समहरोमा अल्झाउछन, कहिले अखण्ड आन्दोलन, कहिले विदेशीको हस्तक्षेप विरुद्ध नक्कली आन्दोलन, कहिले सत्ता पक्षको विरुद्धमा टायर बाल्ने र कहिले गैर कानुनी काममा संग्लन बनाउने भन्दा कुनै रचनात्मक कार्यमा अग्रसरता हुन दिदैनन । अनि युवाहरू सँग न शासन को ग्यारन्टी हुन्छ न त राशनको ।

भाषण गर्नेहरु सदियौ देखि भाषण गरेका छन्, शासन गर्नेहरु पनि सदियौ देखि शासन गरेकै छन् , अनि रासनको लागि आफूलाई सङ्घर्ष गर्नेहरु निरन्तर निरन्तर रासनको लागि सङ्घर्ष गरेकै छन् । यो व्यवस्था त नेपालको सन्धर्भमा अउलनघनिय प्रकृतिको व्यवस्था भएर जकडिएको छ । शासन गर्नेहरु एउटा खालको बर्गहरु नै छन् जो सदियौ देखि शासन गरिरहेका छन् । ६२/६३ को परिवर्तन पछि नेपालमा गणतन्त्र स्थापना भयो र जनताको छोरो राज्यको प्रमुख भएर राज्य सत्ता चलाउने अभिभारा आउदै गर्दा पनि सीमित वर्गका व्यक्तिहरू हाबी भए । गणतन्त्रमा प्रवेश गरिसके पछि हाम्रो मुलुकमा ९ ओटा प्रधानमन्त्रीहरु भएका छन्, जसमध्य कोही दोहारियाका छन् । सबै प्रधानमन्त्रीहरु एउटै वर्गका छन् । दुइओट राष्ट्रपति भएका छन् दुवै जान एउटै वर्ग भित्र पर्नेहरु भएका छन् । त्यसै गरी राज्यका अधिकांश निकायमा एउटै वर्गले निरन्तर शासन गरी राखेका छन् । नेपालमा ब्राह्मण को जनसङ्ख्या १२.३ % छ तर राज्यको हरेक निकायमा ८४% भन्दा बढी शासन गर्ने ठाउँमा यो वर्ग छ । नेपालमा आदिवासी जनजाति को जनसङ्ख्या ३६.७ % छ जसको प्रतिनिधित्व राज्यको हरेक निकायमा ३% भन्दा कम छ, केही अपबाद बाहेक । त्यसै गरी नेपालमा दलितको जनसङ्ख्या १३.२% छ तर राज्यको हरेक निकायमा १% भन्दा पनि कम उपस्थिति छ । त्यसै गरी भाषण गर्नेको जमात पनि यिनै वर्गबाट छ । भाषण गरेर शासन गर्ने सवालमा राम्रो हालीमुहाली एउटै वर्गको छ । खस आर्य पनि भाषण गर्ने पंक्ति भित्रै पर्ने गरेको विभिन्न तथ्यांकहरुले देखाउछ । यो भित्र पनि एक थरी समुदाय सधैँ शासन र अर्को थरी समुदाय भाषण मात्र गर्ने पंक्ति भित्र परेको भेटिन्छ तर रासनको सङ्घर्षमा भने थोरै मात्र जनसङ्ख्या यो वर्ग बाट देखिन्छ । राजनीतिक वृत्तमा हेरेउ भने पनि यसको प्रतिबिम्ब झन् प्रस्ट रूपमा झल्किन्छ । ४६ साल पछिको राजनीतक यात्राको को अवधिलाई हेर्ने हो भने तिनै व्यक्तिहरू राजनीतक वृत्तको शासनको बागडोर अहिले सम्म पनि सम्हालिरहेका छन् ।तिनै व्यक्ति हरू पटक पटक देशका प्रधानमन्त्री भएका छन्, तिनै व्यक्ति पटक पटक मन्त्री भएका छ्न, पटक पटक विभिन्न नियुक्ति पाएका छन्, तिनै व्यक्ति पटक पटक सत्ताको स्वाद चाखिरहेका छन् र क्रम अझै पनि जारी नै छ । क्रम भने कोही “सिटिङ्ग मा छन् त कोही वैटिङ्गमा” छन् । तिनीहरू सँगै राजनीतिक यात्रा तय गरेका र ४६ को सेरोफेरोमा भाषण गर्नेहरु अहिले सम्म पनि भाषण नै गरी रहेका छन् । भने जुन समुदाय र वर्ग हिजो पनि रासन कै लागि सङ्घर्ष गरिरहेको थियो त्यो समुदाय अझै पनि राशन कै लागि सङ्घर्ष गर्दै छ ।

यो शासन, भाषण, र रासन को चक्रभ्यु बाट मुलुक को व्यवस्थालाई बाहिर निकाल्दै समाजको परिधि र देश विकासको व्याख्यालाई फराकिलो बनाउनु पर्ने अहिलेको प्रधान आवश्यकता बनेको छ । तिन ओटा कुराको सन्तुलन मिलाउनको निम्ति सबै समुदायको उचित प्रतिनिधित्व हुन आवश्यक छ र देशलाई अग्रगमन विकासको पथमा पथप्रदशक नेतृत्व आवश्यक छ । सन्तुलन कायम राख्ने सूत्र निर्माण गर्न को निम्ति सबै नेपाली जनतालाई स्वाबलम्ब बनाउन जरुरी छ । जनता स्वाबलम्बी भए भने देशले विकासको गति पनि लिन्छ र देशमा अमनचयन, शान्ति र स्थायित्व पनि कायम हुन्छ ।

आफूलाई देशको ठेकेदार ठान्ने विदेशी दलालको भूमिकाको राम्रो अभिनय गरिरहेका केही नाट्यकार नेताहरू आफूसँगै सबै नेपाली जनतालाई भड्खालोमा हाल्दै छन् र विभिन्न बहानामा आफ्ना कथित मालिकहरुका दास बन्ने प्रयत्नमा अग्रसर भइरहेका छन् र सबै नेपाली जनतालाई बनाइरहेका छन् । कहिले कुनै सन्धि-सम्झौताको नाममा त कहिले नेपालको स्व-निर्णयको अधिकारको साचोलाई बिखण्डनबादी र बिस्तारबादी तत्वहरुलाई हस्तान्तरण गर्दै आफ्नो स्वार्थका निम्ति नेपाल आमालाई अनेकन बहानामा बन्धक बनाई रहेका छन् । भ्रष्ट र अदुर्दशी नेतृत्वको पराकाष्टमा गहिरोसंग डुबेको वर्तमान नेपाललाई खाडल बाट बाहिर ल्याई समुन्नत नेपाल र सभ्य समाजको यात्रामा नेतृत्व गर्ने राजनेता वर्तमान नेपालले आवश्यकता बोध गरेको छ । राजनीति नामक ड्रग्सको कुलतमा फसेका तमाम नेपाली जनतालाई राष्ट्र निर्माणको अभियानमा सहभागी बनाउदै “समुन्नत राष्ट्र नेपालीको सान, विश्वमा राखौ नेपालको मान” भन्ने कुराको बोध हुने नेतृत्व आवश्यकता भएको छ । हरेक जात जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग र समुदायको फुलको थुङ्गालाई उन्दै एउटै मालाको स्वरूप दिई “सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्भभौम फैलिएका मेची महाकाली” भन्ने सहास राख्दै यो देशलाई अग्रगमनको प्रगति पथमा डोर्याउदै , गुमेको साखलाई फर्काउदै सम्मुनत राष्ट्र को नेतृत्व गर्ने जननेताको अपरिहार्यता भएको छ यो बेला । त्यसैले अहिले नेपाली नेताहरूलाई बुद्दत्व प्रदान गर्न हरेक नेपालीले प्रार्थना गरिरहेका छन् र भगवान् बुद्धलाई आग्रह गरिरहेका छन् ,सारा नेपालीहरूलाई पराक्रमक ताकत प्रदान गर्नका निम्ति भगवान् रामलाई प्रार्थना गरिरहेका छन् साथै राजा जनकको बैभवातालाई सम्झदै राष्ट्रलाई बैभवता तर्फ उन्मुख गराउने नेतृत्व होस् भनी आशाबोध गरिरहेका छन् । यी सबै कुरा समिश्रित भएको शासन, भाषण , र रासन को उपयुक्त व्यवस्थापन नै देश विकासको उत्तम विकल्प हो ।
(लेखक, नेपाली काँग्रेसका युवा नेता हुन् )