कोरोना सङ्क्रमणको आशङ्का गरिएका १७ जनाको उपचार हुँदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोना सङ्क्रमणको आशङ्का गरिएका १७ जनाको उपचार हुँदै



काठमाण्डौ– कोरोना सङ्क्रमणको आशङ्कमा काठमाण्डौको दुई वटा र ललितपुरको एउटा अस्पतालमा १७ जनाको उपचार भइरहेको सरकारले जनाएको छ ।

काठमाण्डौको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा चार/चार जना गरी १७ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ । कोराना पुष्टि भएका दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरका अरु अस्पतालमा रुघाखोकी र ज्वरो आएका बिरामी पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुमध्ये १० जनालाई कोरोनाको आशङ्का गरिएको र नमुना परीक्षणको लागि टेकुमा रहेको प्रयोगशालामा पठाइएको पनि मन्त्रालयले जनाएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ ।

अहिलेसम्म नेपालमा कोरोना परीक्षण गरिएका सात सय ५८ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । एक जना निको भइसकेका छन् भने अरु दुई जनाको उपचार भइरहेको छ ।