वृद्धभत्ता दिने उमेरका नेतालाई नेविसंघको सत्ता दिने तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वृद्धभत्ता दिने उमेरका नेतालाई नेविसंघको सत्ता दिने तयारी



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्व बिहीन भएको नौं महिना भइसकेको छ । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघ नेतृत्व बिहीन हुँदा निकै ओझेलमा परेको छ ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको बताउँदै नेपाल विद्यार्थी संघका तत्कालिन अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ गते पदबाट राजीनामा दिएका थिए । 

त्यस यता नेविसंघ नेतृत्व बिहीन बनेको हो । उनलाई नेविसंघको अधिवेशन समयमा गराउन नसकेको भन्दै पार्टीले पदबाट राजीनामा दिन लगाएको थियो । 

अहिले पार्टी नेतृत्वले एउटा निर्णय गर्दा पार्टीका नेतादेखि कार्यकर्ता आश्चर्यमा परेका छन् । नेतृत्वले राजीव ढुंगानाको नाम लगभग पक्का गरेको हल्लाले आश्चर्य पार्न बाध्य बनाएको हो । उमेरले लगभग ५० वर्ष हाराहारीका ढुंगानालाई विधान मिचेर अध्यक्ष बनाउने नेतृत्वको यस्तो कदमले के होला ?

यतिबेला नेविसंघको बागडोर सम्हाल्ने व्यक्तिको सूचीमा राजीव ढुंगानाको नाम अग्रपंतीमा छ । आइतबार शीर्ष तहका नेताको बैठक बोलाएर संघको अध्यक्षमा ढुगांनाको नाम अघि सारेका देउवाले बिहीबारअघि नेविसंघको नेतृत्वको विवाद टुंगाउने मुड बनाएका छन । तर, उता वरिष्ठ नेता रामचन्द्र पौडेलले ११औं महाधिवेशनमा अध्यक्षमा पराजित उम्मेदवार मनोजमणि आचार्यलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्न माग गरेका छन् ।

नेता कृष्णप्रसाद सिटौला समूहले ३२ वर्ष उमेर माथिको अध्यक्ष भए समानान्तर कार्यसमिति बनाउने चेतावनी दिएको छ । यसरी अहिले पनि नेविसंघको नेतृत्वका लागि रस्साकस्सी चलिरहेको छ ।

तर, देउवाले ढुंगानाको नाम अघि सारेर केही समय सीमा दिएर उनलाई निर्वाचन गराउन अधिकार मात्र दिने भन्दै उनैलाई जिम्मेवारी दिने सम्भावना बढेको स्रोतको दावी छ ।

जेसुकै भए पनि कांग्रेस नेविसंघको नेतृत्व ३२ वर्षभन्दा माथिकालाई नै दाउमा छ । यो लगभग पक्का जस्तै बनेको छ । अहिले जति नाम चर्चामा छन् यी सबै ३२ कटेकै नाम हुन् । कांग्रेसले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने विधान समेत केन्द्रीय समिति बैठकबाट पास गरिसकेको छ । तर, यतिवेला उ आफैले पारित गरेको विधान कुल्चिदै लगभग ५० वर्ष हाराहारीका ढुंगानालाई नेविसंघको नेतृत्वको भारी सुम्पिने पक्षमा छ ।

युवा नेतृत्वले यसले नेविसंघले गति लिन नसक्ने तर्क गर्दै आएको छ । पार्टीको राजनीति गर्नुपर्ने र विद्यार्थी जीवनबाट निकै वर्ष टाढा रहेका व्यक्तिलाई नेविसंघको नेतृत्व दिन नुहने युवा नेताहरूको भनाई छ । यसले थप नेविसंघलाई धरासायी बनाउने उनीहरूको तर्क छ ।