एनपी साउद भन्छन: अब नेकपाले सार्वजनिक माफी माग्नुपर्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एनपी साउद भन्छन: अब नेकपाले सार्वजनिक माफी माग्नुपर्छ



काठमाडौं, । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेकपा अहिले जुन किसिमले यो बाटोमा अगाढि बढ्दैछ, यसले देशभित्र ध्रुवीकरण गर्दैछ । यो गम्भिर आलोचनाको विषय हो । नेकपा सच्चिनुपर्छ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । विदेशबाट आमन्त्रित गरेर हामीलाई प्रशिक्षण दिनुहोस् । सिकाईनिदुहोस । चीनबाट सत्ता कब्जा कसरी गर्न सकिन्छ भनेर सिक्ने, प्रशासन र पार्टीलाई कसरी नियन्त्रणमा राखेको छ भनेर सिक्नु र चीनको लामो छलाङको अभ्यास प्रशिक्षण लिएको देखिन्छ यो आपत्तिजनक । नेकपाले स्पष्टीकरण दिनुपर्छ ।’

तर, नेकपाका शीर्ष नेताहरुलेनै यो विषयमा गल्ती स्विकार गरेर क्षमा माग्ने भन्दापनि अर्गाल्याँई गर्ने गरेको उनको अर्को अराोप छ । उनले भने,‘नेकपाका नेताहरुले आफूले लिएको बाटोलाई बचाउ गर्ने खालको अभिव्यक्ति देखियो, यो राम्रो होईन् ।’ प्रशिक्षण वा गोष्ठी गर्नु नै गलत थियो भन्ने साउदको भनाई छ ।

साक्षात्कारमा बोल्दै उनले भने,‘चीनमा पृथक किसिमको विकास र शासनको मोडल छ । चिनियाँ नेताहरु ल्याएर यहाँ गोष्ठी गर्नु वा महाधिवेशनमा बोलाउनु त स्वभाविक हुन्थ्यो । तर, स्कुल विभागले गोष्ठी राखेर प्रशिक्षण लिनु गलत हो ।’

यद्धपी उनले आफूहरु चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘उहाँको भ्रमण हुनुपर्छ । नेपाली कांग्रेस सरकारमा भएको बेलामापनि उहाँलाई भ्रमणको लागि पटक–पटक निम्ता गरेका थियौं । चीन महत्वपूर्ण मित्र हो । उहाँको भ्रमण मित्रताको आदानप्रदन मात्रै होईन, आर्थिक हिसाबले पनि धेरै राम्रो छ ।’

उनले हालै नेपालमा भारत र चीन दुवै देशका विदेशमन्त्रीले भ्रमण गरेको सुनाउँदै यो अत्यन्तै राम्रो पक्ष भएको बताए । उनले भने,‘नेपालमा चीनका पनि विदशेमन्त्री आउनुभएको छ । भारतका पनि विदशेमन्त्री आउनुभएको छ । यसरी उच्चस्तरीय प्रतिनिधि नेपालमा आउने कुराले दुई देशबीच सम्बन्ध मजबुद हुन्छ । भ्रमणले विकास निर्माणदेखि जनस्तरमा सम्बन्ध राम्रो बनाउँछ । कांग्रेसले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्दै आएको छ । यसलाई कांगेस स्वागत गर्न चाहन्छ ।’

विदेशमन्त्रीमात्रै नभएर भारत र चीनका विभिन्न नेताहरु पछिल्लो समय नेपाल भ्रमणमा आएको सुनाउँदै उनले यसले नेपाल–भारत र नेपाल–चीनबीच जनस्तरीय दुई देशबीचको सम्बन्ध सुदृढ र बलियो बनाएको दाबी गरे ।

तर, अहिले केही नयाँ कुराहरु र परिदृश्यहरु देखिएका उनको टिप्पणी छ । उनले थपे,‘दुई सरकारबीच सम्बन्ध स्वभाविक छ । नागरिकतस्तमा सम्बन्ध स्वाभाविक छ । तर, एउटा कम्युनिष्ट पार्टीको अर्को कम्युनिष्ट पार्टीको भाृतसंस्था भएर सम्बन्ध स्थापित गर्ने कुरा आएको छ । नेकपा कतातिर गैरहेको छ ? कुन बाटो लागिरहेको छ भन्नेबारे गम्भिर प्रश्न उठेको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ । कम्युनिष्ट ईन्टरनेश्नल हुँदा विश्वभरिका कम्युनिष्ट पार्टीहरु त्यसका सदस्य थिए । माओवादी पार्टी पनि रिमको सदस्य थियो । नेपाली कांग्रेस सोसलिष्टको सदस्य थियो ।’

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भैरहेको सम्बन्ध विस्तार गम्भिर भएको उनको टिप्पणी छ । उनले थपे,‘नेपालमा नेकपा गठन भएको भर्खरे डेढ दुई वर्ष भएको र नयाँ पार्टी छ । अन्तरसम्बन्ध के हो भन्ने कुरामा गम्भिर प्रश्न उठेको छ । चीनमा कम्युनिष्ट पार्टीको हातमा सरकार छ । नेपालमा सरकार संसदको हातमा छ । पार्टीहरु बहुदलीय व्यवस्थाअनुसार चल्छन् ।’

उनले बिआरआई वा सिल्क रोडले यो क्षेत्रको (चीनभित्र र वा बाहिर) को विकासको सन्दर्भमा महत्पूर्ण नक्शा कोरेको सुनाए । तर, कम्युनिष्ट पार्टीका नेताहरु स्वयमले यो परियोजनालाई चीनको विकासको नयाँ वैकल्पिक अर्थात् नयाँ मोडल भनेर भनिरहेको साउदको भनाई छ । उनले भने,‘नेकपाका नेताहरुले बिआरआई प्रजातन्त्रको वैकल्पिक मोडल हो भनेका छन्, नेकपाका नेताको भनाई र लेखबाट यो कुरा आईरहेको छ । दुई पार्टीबीच भातृत्वको सम्बन्ध स्थापित गरेर सहमति भएको छ । यो सहमति गम्भिर किसिमको छ ।’

कम्युनिष्टहरु सत्तामा आउँदा हाँस्न त पाईन्न–पाईनन रुनपनि पाईन्न भनेर आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले भनेको स्मरण गर्दै साउदले भने,‘हाम्रो सभापतिले यस्तो भन्दा नेकपाका नेताहरुले लोकतन्त्र र संविधानप्रति नेकपा प्रतिबद्ध पार्टी हो भन्नुभयो । जनतालाई भ्रमित पार्नुभयो र मत लिनुभयो । अहिले देशभित्र नियम, कानुन बनाएर अधिकार केन्द्रिकृत गर्नुभएको छ । कानुन, संविधानको मौलिक ढाँचा प्रभावित गर्नुभएको छ ।’

नेकपाको यो गतिविधिले भोलिका दिनमा गम्भिर परीणामा हुने उनको भनाई छ । ‘अब नेपालको विदेश नीति, शासकीय ढाँचापनि विभिन्न अन्तर्राष्टिय पार्टीसँग उनीहरुको विचारसँग तालमेलसँग गर्नेभयो’–साउदले भने,‘यसले नेपाली जनताको एकता, संविधानले अनुभुत र प्रवन्ध गरेका निर्देशक सिद्धान्तहरु उल्लंघन गरेको देखियो ।’