६ महिनादेखि अलपत्र: साउदीका नेपाली श्रमिक सरकारविरुद्ध आन्दोलित - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

६ महिनादेखि अलपत्र: साउदीका नेपाली श्रमिक सरकारविरुद्ध आन्दोलित



काठमाडौं- साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीमा कार्यरत कैलालीका २९ वर्षीय राम कार्की (नाम परिवर्तन) तीन महिनादेखि बेरोजगार छन्।

काठमाडौंको अञ्जुलीमा म्यानपावरबाट वेटरका लागि गए पनि लेबरको काम गर्न बाध्य भएका उनलाई कोभिड– १९ का कारण लकडाउन भएदेखि कम्पनीले पारिश्रमिक दिएको छैन ।

अहिले भिसा अवधि पनि सकिएको कारण नेपाल फर्कन नपाउने हो कि भन्ने चिन्ताले उनलाई सताएको छ।

चार वर्षदेखि साउदीमै रहेका सप्तरीका २८ वर्षीय मुन्ना यादव (नाम परिवर्तन) पनि चार महिनादेखि बेरोजगार छन् । गत मेमा उनको पनि करार अवधि सकिएको छ । त्यस्तै चार वर्षअघि नै साउदी गएका बर्दियाका ३० वर्षीय रवि ढकाल (नाम परिवर्तन) बेरोजगार भएको पनि ६ महिना बितिसकेको छ।

अहिले कम्पनीले खान–बस्न दिए पनि नेपाल फर्कन नपाउँदा उच्च जोखिमा बस्नुपरेको उनीहरूको गुनासो छ । कार्की, यादव र ढकालजस्तै साउदीका करिब एक हजार नेपाली श्रमिक करार अवधि सकेर स्वदेश फर्कन पाउने आसमा रहेको पीडित कार्कीले फोनमार्फत बताए।

उनका अनुसार करार अवधि सकिएका र विगत सात महिनादेखि बेरोजगार श्रमिकलाई कम्पनीले आफ्नै आवासगृहमा राखेको छ । तर, कम्पनीले भारत, फिलिपिन्सलगायत अन्य मुलुकका श्रमिकलाई भने स्वदेश फर्काइसक्यो । नेपाली श्रमिक भने एउटै हलमा डेढ सयजनासम्म राखिएका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

कोभिड– ९ का कारण साउदी अरेबियामा बेरोजगार भएका नेपाली स्वदेश फर्कन नपाएको भन्दै नाराबाजीमा उत्रिएका छन्।

पटकपटक स्वदेश फर्कनका लागि निवेदन दिँदा पनि रियादस्थित दूतावासले बेवास्ता गरेको भन्दै नाराबाजीमा उत्रिन बाध्य भएको पीडित श्रमिक कार्कीले बताए ।

उनले भने, ‘हामीले दूतावासमा धेरैपटक निवेदन गर्‍यौँ । तर, दूतावासले कम्पनीले नै प्रक्रिया अगाडि नबढाएको भन्छ । कम्पनीमा कुरा गर्‍यौ भने तिम्रो दूतावासले काम गर्दैन भन्छ।’

विपत् पर्दा सहयोग नगरेपछि दूतावासको विरुद्धमा नाराबाजी गर्न बाध्य भएको उनीहरू बताउँछन् । गत आइतबार उनीहरूले आवासगृहमा नै नाराबाजी गरे भने सोमबार दूतावास गएर वार्ता गरे । दूतावासले आगामी १८ तारिखमा दुई सय ७० श्रमिकलाई नेपाल फर्काउने प्रतिबद्धता जनाएको उनले बताए।

बेरोजगारीकै कारण काभ्रेका कृष्ण विश्वकर्माले डेढ महिनाअघि आवासगृहमा आत्महत्या गरेका थिए । ‘हामीले कम्पनी र दूतावासलाई खबर गर्‍यौँ, तर दिनभरि पनि कसैले उनको लासलाई उठाएनन् । बिहान ४ बजे आत्महत्या गरेको उनको शव बेलुका मात्रै निकालियो।’