त्यो स्कुटी वाली ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

त्यो स्कुटी वाली !



-दीपक घिमिरे

कलेजको गेटमा आएर एउटा स्कुटी टक्क अडियो , रातो कलरको स्कुटीमा आएकी स्कुटी वाली पनि रातै ड्रेसमा थिई । स्कुटी पार्किङ गरेर राख्न गेटपाले दाइले सिकाएपछी स्कुटी वाली हल्का लजाई । उता सहरका बोकाहरु गललल हासे ।

स्कुटिको डिक्कीबाट कलेजी कलरको ब्याग निकालेर स्कुटी बालीले काधमा भिरी अनि आखामा लगाएको हजारौँ मूल्य बराबरको चस्मा निकालेर निधारमा अड्याई । अनि नागबेली आकारमा जिरो फिगरवाला शरीर लच्काउदै हामी बसेको सामु आएर सोधी “ एक्सक्युज मी ! एकाउन्टेण्टको अफिस कता पर्छ ? ”

चोर औलाले हाम्रो लेखा शाखा देखाउदै भने “ उ त्यहाँ बाट लेफ्ट साईड तिर मोडिनुस । ढोकैमा पुग्छ ।”
उसले मीठो मुस्कान छाडदै भनी “ थ्याङक्स ! ”

पर्फ्युमले नुहाए जस्तो बासना छाडदै उनी कलेजको गेट बाट भित्र लागिन , हामी हेरेको हेर्‍यै भयौ ।
स्कुटी वाली निक्कै सुन्दर थिई । सबैको मनै लोभ्याउने जस्ती सुन्दरी । उ को होली , किन कलेज सम्म आई होली ? सबैको मनमा यस्तै सयौ कुरा खेल्दै थिए ।

उसलाई सबैले राम्री माने , साँच्चै उ निक्कै राम्री थिई । उ को हो भन्ने कौतुहलता मेटन धेरै बोकाहरु उसको पछि लागेर गए । उ आधा घण्टा पछि फर्केर आई , हामी अहिले सम्म यही गेटमै थियौ ।

उ अघि आएकै स्टाईलमा स्कुटी चढी ! पैला ब्याग डिक्किमा राखी , टाउकाको चस्मा आँखा सम्म ल्याई अनि स्कुटी स्टार्ट गरेर बेपत्ता भई । गएको बाटो तर्फ मोडिएर सबैले हेरे , बच्चा देखि वृद्ध सम्म सबैले । अनि सुस्केरा हाल्दै भने “ ओ माई गड ! क्या सेक्सी केटी ।”
सहरमा स्कुटी वाली धेरै छन् तर उ बेग्लै थिई । हाम्रो कलेजमा दर्जन भन्दा धेरै केटीहरू स्कुटी लिएरै कलेज आउछन तर सबै भन्दा उ बेग्लै थिई । उ को हो या किन आएकी हो आज कसैले थाहा पाएन ।

कलेज नियमित थियो । देशभरबाट पढन आएका हजारौँ  बिद्यार्थी  थिए यो कलेजमा । कसैलाई कसैको मतलब हुन्थेन तर त्यो स्कुटी वालिको मलाई खुब मतलब हुन्थ्यो । खै किन उ मेरो आँखा मा बसेकी थिई मैले आफै बुझ्न सकेको थिएन । कलेज जाँदा आउँदा सयौ स्कुटी वाली रोडमा भेटिन्थे , घरबेटिकै कान्छी छोरीको गजपको स्कुटी थियो । कलेजमा सँगै पढने नमिता , कृष्टि , संजिता सबैको स्कुटी थियो तर मेरो दिमागमा यही स्कुटी वाली घुमिरही ।अर्को दिन पहिलो कक्षा लिएर उसै गरी गेटमा उभिएको थिए , उ फेरि आई । उसैगरी स्कुटी पार्क गरी । यो पटक उसलाई गेटपाले दाइले सिकाउनु परेन ।

“ आराम छौ ? ” उसले गेटमै उभिएका पालेदाई लाई सन्चो बिसन्चो सोधी । पालेदाई ट्वाँ परेर भने “ सन्चै छु ! ”
उ हामी भए तिर हेरेर मुस्कुराई । मैले बत्तिस दन्त देखाएरै मुस्कुराईदिए । अरू सबै त्यसै गरी मुस्कुराउदै थिए ।
उ सरासर लेखा शाखा तिर गै । कलेजका बोकाहरु उसको स्कुटी मा झुम्मिए । कसैले स्कुटिको ऐनामा हेरेर कमाल मिलाए , कसैले जुङ्गा मिलाए । अनि कसैले त स्कुटी मै सेल्फी लिए ।

उ आज अलि धेरै बेर सम्म लेखा शाखामा बसी । उ बसेकै समयमा कलेजका  प्रिन्सिपल  पनि लेखा शाखामा गए । अरू दुई चार जना लेक्चर हरू पनि गए । भित्र मिटिङ हुँदैछ सायद ।उ करिब एक घण्टा पछाडि निस्की । मैले कक्षा कोठाको झ्याल बाटै उसलाई लाइन मारे । उ अलि हतारमा जस्तै गरेर गेट बाहिर निस्किई । बाहिरको अवस्था मलाई थाहा भएन ।

उ गएको केही क्षण पछाडि हाम्रो क्लास सकियो । हामी सबै अफिस तिर लाग्यो । लेक्चर लगायत प्रिन्सिपल र एकाउन्टेण्ट सबै बसेर छलफल हुँदै थियो तर के विषयमा हो हामीलाई थाहा भएन । सरहरुलाई सोध्दा समेत भन्नुभएन । बरु कलेजको सानो समस्या भनेर हासेरै टार्दिनु भयो ।

यो दिन पनि उ को हो या किन आएकी हो थाहा भएन । हामी सबै उत्सुक थियौ बुझ्नको लागि । तर न एकाउन्टेण्टले भन्थे । न अरू कुनै सरहरुले । धेरैलाई उ को हो जान्ने उत्सुकता थिएन तर मलाई जान्न मन थियो आखिर को हो उ ? कुनै हिरोनी भन्दा कम राम्री छैने उ , मिलेको शरीर छ । कुनै ठुलो व्यावसायिक घरानाकी छोरी जस्तै फेसनेवल छे उ । तर कलेजको आन्तरिक मामला भन्दै गोप्य राखिदै छ ।
अरूले चासो नदिएपनी मलाई स्कुटी वालिको बारेमा बुझ्नु थियो । उसलाई चिन्नु थियो किनभने उसले पहिलो पटक एक्स्क्युज मी भन्दै मन चोरेकि थिई ।

उ हाम्रै कलेजको लेक्चर भैदिए हुन्थ्यो या कलेजकै नयाँ बिद्यार्थी  भैदिए हुन्थ्यो भन्ने मेरो मनको आग्रह थियो । यति भए म उसलाई दैनिक देख्न पाउथे । राम्रा फुललाई हेरेरै चित्त बुझाउने मेरो आफ्नै नियम छ । उ मेरा लागि फुल थिई , बगैचामा फुलेकी अलग स्टाईलकी फुल ।
घर गयो , सम्झनामा स्कुटी वाली । कलेज आयो , कतिबेला आउली स्कुटी वाली । यी र यस्तै कुराले सताउने भैसके म । करिब एक साता सम्म उ दैनिक आऊ जाऊ गरी । पहिले पहिले छिट्टै फर्कन्थी तर बिस्तारै पछि पछि समय बढाउदै लागि । एकाउन्टेण्ट सँग मात्र हुने छलफल आजभोली कलेजका सबै स्टाफ सँग गर्न थाली सायद । उ आएको पत्तो पाउना साथ कक्षा कोठा बाट निस्केअ सबै लेक्चरहरु लेखा शाखा तिर लाग्थे ।

उ आएपछि कलेजको पढाइ बिग्रन्थ्यो । अरुहरुले विरोध गर्थे तर मैले गजप मान्थे किनभने म स्कुटी बालीलाई मजाले हेर्न पाउथे । उ फर्कदा उसलाई गेट सम्म छाडन पाउथे । उ सधैँ फर्कदा मलाई मुस्कान सहित बाई भन्थी , म लठ्ठिन्थे ।

एक दिन उ अलि छिट्टै आई । म गेटमै हुँदा आई । हातमा ठुलो ब्याग लिएर आई यो पटक उ । सधैँ जसो मलाई हाई गरेर लेखा शाखामा उ गै । उ गएपछि सबै सरहरु उतै गए । अरूलाई खासै चासो नभएपनी मलाई उसको माया लाग्ने भैसकेको थियो । त्यसैले म उसको विशेष निगरानी गर्थे ।

कक्षा सुरु भएको थिएन । सबै सरहरु उतै मिटिङमै थिए । हामी स्कुलकै ग्राउण्डमा बसेर गफमा मस्त थियौ । अरूको ध्यान गफमा भएनी मेरो ध्यान स्कुटी वाली तर्फ थियो । उ कतिबेला निस्कन्छे अनि मनभरि हेर्न पाइन्छ भन्ने रहर थियो ।एक्कासि सबै सरहरु हतारका साथ बाहिरिए । स्कुटी वाली सबैभन्दा पहिले भाग्दै गेट क्रस गरी । बिस्तारै सबै सरहरु दौडिदै गेट क्रस गरे अनि सबैलाई छिट्टै बाहिरिन आग्रह गरे । ठुलो गेट खोलियो , सबै बिधार्थी एक हुलका साथ बाहिरिए ।

बिद्यार्थी आउने काम सकिनासाथ ठुलो स्वरमा ब्लास्ट भयो । हेर्दा हेर्दै कलेजको अफिस बमले उडाईदियो । सबै जलेर खरानी भयो । हामीहरू निक्कै डरायौ , फर्केर स्कुटी वाली तर्फ हेरेको उ बेपत्ता भैसकेकी थिई । तुरुन्तै प्रहरी आयो , अनुसन्धान गर्न प्रिन्सिपल  र एकाउन्टेण्टलाई सोधपुछ गर्न थाल्यो । एकाउण्टेन भन्दै थिए “ पचाँस लाख चन्दा माग्दै थिए , बिस लाख दिने सहमति हुँदा पनि लिन मानेनन , अन्त्यमा टाइम बम फिट गरेर ज्यान बचाउने भए भाग्न भनेर बेपत्ता भए ।”

ओ माई गड ! मैले मनमा सजायकी त्यो स्कुटी वाली नेकपा माओवादी काठमाडौँ जिल्ला सेक्रेटरी रैछे । उ पार्टीको लागि चन्दा माग्न आउदी रैछे । आज बल्ल पत्ता लाग्यो ।त्यो कलेज जीवनमा मनपराएकी त्यो स्कुटी वाली आज जिउदै छे या सहिदको नाममा सुचिकृत छे थाहा भएन तर उसको त्यो रूप अनि लोभलाग्दो शरीर अझै उस्तै ताजा छ मानसपटलमा !