विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा



काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो। वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए। चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन्। विप्लव समूहले जुनिचाँदे गाउँपालिकालगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन्।

शाही अपहरणका लागि २०÷२५ जनाको समूहको टोली उनको घर पुगेको थियो। त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको छ।

शाही विप्लवका कार्यकर्ताको पञ्जाबाट भागेर तालिमरत स्थान सैनामैनास्थित श्री नम्बर दुई गणमा फर्केका छन्। शाही कति दिन अपहरणकारीको कब्जामा रहे त्यो विषय भने खुलेको छैन।

शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको जंगी अड्डाका अधिकारीले पुष्टि गर्दै भने, ‘अपहरणमा परेका सैन्य अधिकारी सेनाको सम्पर्कमा आएका छन्। उनी सकुसल छन्।’अपहरणका बेला विप्लव समूहले आफूलाई कुनै शारीरिक यातना नदिएको शाहीले जानकारी गराएका छन्।

मन्त्रिपरिषद्को फागुन २८ को बैठकले विप्लव समूृहलाई आपराधिक समूह किटान गरी उनीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि सुरक्षा निकायले विप्लव समूहका कार्यकर्तालाई दिनहुँजसो पक्राउ गरिरहेको छ। विप्लव समूहले सैनिक अधिकारीलाई अपहरण गरेको घटनालाई लिएर जंगी अड्डा गम्भीर बनेको छ। सेनालाई उत्तेजित गराउने उद्देश्यले सैनिक अधिकारीको अपहरण गराइएको हुुन सक्ने जंगी अड्डाको बुझाइ छ।

‘नेपाली सेनालाई उत्तेजित गराउने उद्देश्यले यस्ता गतिविधि गराइएको हुन सक्छ,’ एक उच्च सैनिक अधिकारीले अन्नपूर्णसँग भने, ‘सेनालाई उत्तेजित बनाई विप्लवका गतिविधिविरुद्ध परिचालित गराउने षड्यन्त्र त होइन भन्ने आशंका बढिरहेको छ। सैनिक नेतृत्व तहबाटै यसमा विश्लेषण पनि भइरहेको छ।’

जबर्जस्ती चन्दा असुली तथा व्यक्ति अपहरणजस्ता कार्यलाई जघन्य अपराधका रूपमा लिइन्छ। ‘सैनिक अधिकारीको अपहरण र तीनका परिवारबाट जबर्जस्ती चन्दा असुलीजस्ता आपराधिक गतिविधि सेनालाई कदापि स्वीकार्य हुँदैन’, ती सैनिक अधिकारीले भने, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सेनाले कसैको आदेश कुर्नु पर्दैन।’

उच्च सैनिक स्रोत भन्छ, ‘सकल दर्जाको सुरक्षाका लागि सेनाले कुनै कसर बाँकी राख्दैन। आदेशसमेत कुर्नु पर्दैन। अवाञ्छित एवं आपराधिक गतिविधिमा संलग्न विप्लव समूह होेस् वा अरू कुनै समूह समयमै सचेत हुन जरुरी छ।’

विप्लव समूहले व्यक्ति अपहरण, हत्या तथा फिरौतीलगायत क्रियाकलाप आफ्नो पार्टी नीतिभित्र नरहेको बताउँदै आएको छ। समाचार अन्नपुर्ण पोस्टमा छ

फाइल तस्बिर