खुल्ला यौन ब्यापार रोक्न नयाँ अभियान, दुई दिनमा सयौं पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

खुल्ला यौन ब्यापार रोक्न नयाँ अभियान, दुई दिनमा सयौं पक्राउ



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो ।

जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ परेका हुन् । सोमबार राति पक्राउ परेकाहरूमध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासमेत रहेका डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको बताए । उनले प्रहरीको अभियान नै काठमाडौंलाई क्लिन गर्ने रहेको समेत प्रस्ट पारेका हुन् ।

‘सार्वजनिक स्थलमा हुने अनैतिक क्रियाकलाप र आपराधिक गतिविधिलाई क्लिन गर्ने योजनाअन्तर्गत यो अभियान सुरु गरिएको हो, अब यो अभियान निरन्तर अघि बढ्छ,’ काठमाडौं प्रहरी प्रमुख सुवेदीले राजधानीसँग भने ।

प्रहरीले आइतबार मात्रै राजधानीका करिब एक दर्जन स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै १ सय २५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १ सय ९ जना पुरुष र १६ जना महिला थिए ।

परिसरका डीएसपी बोगटीका अनुसार प्रहरीले यौनजन्य क्रियाकलापका लागि खुल्लमखुल्ला बार्गेनिङ हुने स्थानमा त्यस्ता गतिविधिलाई पूर्ण रूपमा रोक्न भन्दै सादा पोसाकका प्रहरीसमेत खटाएको छ ।

त्यस्तै, महिला प्रहरीलाई समेत सादा पोसाकमै खुल्लमखुल्ला बार्गेनिङ हुने स्थानमा पठाएर यौन गतिविधिमा संलग्नलाई पक्राउ गर्ने रणनीति परिसरले लिएको छ ।

प्रहरीले राजधानीको नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, वीर अस्पताल, जमल, बागबजार, चाबहिल, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा ‘स्ट्रिङ अपरेसन’ निरन्तर चलाइने जनाएको छ ।

अनैतिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरूबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको भन्दै प्रहरीले राजधानीबाट पूर्ण रूपमा अनैतिक क्रियाकलाप बन्द गर्ने र सामाजिक विकृति रोक्ने लक्ष्य सो अभियानमार्फत लिएको हो ।