अष्टलक्ष्मीलाई गठबन्धनले दियो अन्तिम मौका - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अष्टलक्ष्मीलाई गठबन्धनले दियो अन्तिम मौका



मकवानपुर- वाग्मती प्रदेशमामा विपक्षी गठबन्धनले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अन्तिम मौका दिने भएको छ । नयाँ सरकार गठन गर्न लागेको लागि विपक्षी गठबन्धनले एक साताको मौका दिने भएको हो । बहुमत रहेको एमाले विभाजन भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

मुख्यमन्त्री शाक्यलाई सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भैसकेको छ । विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिनका लागि अन्तिम एक साताको समय दिने सहमति गरेको छ ।‘राजनीतिमा इमानदारिता हुन्छ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन एक साताको समय दिएका छौं । यस अवधिमा सदन बोलाएर विश्वासको मत लिने वातावरण बनेन भने हामी सरकार फेर्ने प्रक्रियामा अगाडि बढ्छौं,’ माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने ।

उनले मुख्यमन्त्रीले एक साताभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए अविश्वास प्रस्ताव दर्ता गरेर अगाडि बढ्ने सहमति विपक्षी दलहरूबीच भएको बताए । उनका अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको बढीमा साता दिनभित्रमा प्रदेश सरकार फेर्ने गरी विपक्षी गठबन्धनले तयारी अगाडि बढाइसकेको छ ।

विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम छिनोफानो नहुँदा अविश्वासको प्रस्ताव अगाडि बढाउन समस्या भइरहेको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि सदनमा ५५ मत आवश्यक पर्छ । माओवादी केन्द्रको २३, कांग्रेसको २२ र नेकपा (एकीकृत समाजवादी) को १३ गरी विपक्षी गठबन्धनसँग ५८ मत छ । यस्तो अवस्थामा विपक्षीको सरकार बन्ने निश्चित छ ।

बैठकमा विवेकशील साझा पार्टीलाई पनि सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ । सरकारको नेतृत्व आधा/आधा कार्यकाल गर्ने विषयमा कांग्रेस र माओवादी एक मत छन् भने एकीकृत समाजवादीको फरक मत छ ।

एक नेताका अनुसार एकीकृत समाजवादीले पूरै कार्यकाल सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरिरहेको छ । मुख्यमन्त्रीको दौडमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् ।