इजलासमा अधिवक्ता शम्भु थापा पड्किए: नेम्वाङ र खरेलमाथी आक्रामक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

इजलासमा अधिवक्ता शम्भु थापा पड्किए: नेम्वाङ र खरेलमाथी आक्रामक



काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री र राष्ट्रपतिको कदम देश र संविधानको लागि घातक भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता थापाले संविधानबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि कति समय लिन लागेको हो भनेर थापालाई सोधेका थिए । त्यसक्रममा संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।

सोमबारको सुनुवाइका क्रममा थापाले अगाडि भने, ‘मैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । संविधान श्रीमानहरूबाट पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो ।’

प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले कटाक्ष गरेका हुन् । ‘प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको थापाको भनाइ थियो । ‘संविधान त एउटै हो, संविधानले बेलाबेलामा बोली फेर्नु ठीक भएन । सभासद् भएर हिजो शपथ लिने, कानुनमन्त्री बन्ने पनि त्यसरी व्याख्या गर्ने ! त्यसको हैसियत म व्याख्या गरौंला नि श्रीमान् !,’ विगतमा कानुनमन्त्री भएका महान्यायाधीवक्ता खरेलतर्फ इंगित गर्दै थापाले भने, ‘पदमा जाने गइसकेर लिड (नेतृत्व) गरेर बोल्ने अनि अर्को बाटोबाट फाल्न पाइँदैन नि । हामीलाई त जे संविधान दिएको छ त्यसैको लागि इजलास बसेको छ ।’

संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको थापाको भनाइ थियो ।

संविधानको अन्तिम व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको र त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने थापाको भनाइ थियो । ‘श्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो । विश्वास आफ्नो हो । आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो,’ उनले भने ।

सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ ? र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।