एउटा मुद्दामा अनुसन्धान भैरहेका बेला शंकरलाई लडाकु शिविरकै चिन्ता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एउटा मुद्दामा अनुसन्धान भैरहेका बेला शंकरलाई लडाकु शिविरकै चिन्ता



काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चेतावनी दिएका छन् । मुलुकमा भएका ठूला भ्रष्टाचार काण्डहरु छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको जिकिर छ ।

पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुले बदमासी गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले यस अपराधमा संलग्नहरु भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको भन्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका थिए । ‘म तपाईँहरुको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, संकेत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ । त्यसप्रति तपाईँहामी

सबै सचेत हुनुपर्छ । नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीहरुको सन्दर्भमा, उनीहरुको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदलभित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रुपका प्रमाणिकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने दुरुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाँची गरिकन नयाँ व्यक्तिहरुको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको सुरुवात भयो भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण एक ठगी काण्ड मात्रै नभएर राष्ट्रमाथिको घात भएको उनको भनाइ थियो । साथै राष्ट्रको स्वाधिनता, स्वाभिमानप्रतिको अपमान भएको उनले बताए । यस क्रममा उनले उक्त प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको पनि आरोप लगाएका थिए ।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको शुरुवात भएको उनको आरोप थियो । यस क्रममा उनले भ्रष्टाचारमा संलग्नहरूकै ठूलो स्वर रहेको र उनीहरू नै भ्रष्टाचारविरोधी अधियानमा लागेको भन्दै आपत्ति जनाएका थिए ।

महासचिव पोखरेलले भने, ‘तपाईँहरुको बीचमा राख्न चाहन्छु । जो नेपालमा भ्रष्टाचारका लागि कुख्यात छन् । उनीहरु आज भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो बन्न खोजिरहेका छन् । कुनै एउटा घटनाका सन्दर्भका बारेमा भइरहेको छानबिनलाई राजनीतिकरण गर्ने काम नगरौं । साँच्चै यो मुलुकमा सुशासनतर्फ अगाडि बढ्ने हो भने सबै स्क्यान्डलहरुका बारेमा चर्चामा रहेका विषयहरुको सन्दर्भमा सत्यतथ्य खोजी गर्नका लागि आँट गरौं । के अहिलेको सरकार शिविर घोटालाको छानबिन गर्न तयार छ ? के अहिलेको सरकार अर्थ मन्त्रालयको नेतृत्वमा भएको नीतिगत विचलनको माध्यामबाट राष्ट्रलाई टाट पल्टाउने जुन अपराध भएको छ । त्यसको छानबिन गर्नका लागि तयार छ ? वा राष्ट्रका सम्पत्तिहरूलाई हिनामिना गर्नका लागि विगतमा गरिएका जग्गा, जमिनको अपचलनका क्रियाकलापहरुका बारेमा छानबिन गर्न तयार छ ? नेकपा एमाले सबै प्रकारका घटनाहरुको छानबिन गर्नका लागि तयार रहेको कुरा म तपाईँहरुको माध्यामबाट जानकारी गराउन चाहन्छु ।’

पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको टीप्पणी गरेका थिए । उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरुलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको दाबी गरेका थिए ।