शंकर पोखरेलले गरे अध्यक्ष बनाउने प्रस्ताव, विष्णु पौडेलद्वारा अस्वीकार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शंकर पोखरेलले गरे अध्यक्ष बनाउने प्रस्ताव, विष्णु पौडेलद्वारा अस्वीकार



काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको आइतवार निर्णायक दिन हो । आइतवारको बन्दसत्रले एमालेको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीको चयन गर्दैछ । तर पदाधिकारी चयन र सर्वसम्मत गर्ने ओलीको प्रयास भने थप पेचिलो बन्दै गएको छ ।

शनिबार बसेको बन्दसत्रमा सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिएको छ । सोहीअनुसार ओलीले बन्दसत्रमा पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय निकायमा २५ जनाका दरले ७५ जनाको नाम प्रस्तावको गृहकार्यमा जुटेका छन् ।

ओलीले केही दिन अघिदेखि नै केन्द्रीय नेतृत्वमा ल्याउने व्यक्तिबारे छलफल थालेका थिए । शनिवार पनि बिहानैदेखि ओली नेताहरूसँगको छलफलमा रहेका छन् । तर ओलीपक्षकै नेताहरू एउटै पदमा धेरै आकांक्षी भएपछि तनाव थपिएको छ ।

सोही कारण बिहान १० बजे बोलाइएको बन्दसत्र साढे ५ घण्टा ढिलो शुरू भयो । आइतवारको बन्दसत्रमा ओलीले सबैभन्दा पहिले केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका अध्यक्ष, सचिव र सदस्यहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका ओली निकट स्रोतले बताएको छ ।

केन्द्रीय सचिवालयमा विभिन्न पदमा समेटिनका लागि एमालेको शीर्ष नेतृत्व तहमा जुँगाको लडाइँ चलिरहेको छ । विशेषगरी वरिष्ठ उपाध्यक्ष र महासचिव को बन्ने भन्नेमा टुंलो लाग्न सकेको छैन ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन् । त्यसमध्ये पोखरेललाई वरिष्ठ उपाध्यक्ष र नेम्वाङलाई उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । एमालेले राजकीय जिम्मेवारी पाएको अवस्थामा नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएर ओलीले फकाइरहेको स्रोतले बताएको छ ।

नेम्वाङले भने निर्वाचन हुने अवस्थामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने ओलीलाई बताएको स्रोत बताउँछ । नेम्वाङ निर्वाचनमा आउँदा वरिष्ठ उपाध्यक्ष हारिने डरमा पोखरेल छन् ।

त्यसबाहेक महासचिव पदमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । उनीहरू दुवै जना नेतालाई आपसमा सहमति गरेर आउन ओलीले निर्देशन दिएका थिए । सोहीअनुसार भएको दुई नेताको छलफलमा पोखरेलले पौडेललाई नयाँ प्रस्ताव गरेको खुलेको छ । छलफलमा पोखरेले अहिले आफू महासचिव बन्ने र पौडेललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको एक नेताले बताएका छन् ।

शंकर पोखेरेलले पौडेललाई अहिले महासचिव आफूलाई सघाए आउने महाधिवेशनमा अध्यक्ष पदका लागि आफूले छाडिदिने र सहयोग पनि गर्ने बताएको स्रोतले बतायो । तर पौडेलले भने उनको प्रस्ताव अस्विकार गरेको बताइएको छ ।