एमाले महासचिवकै जिल्लामा एमाले बढारिने संकेत, शंकरलाई राजनीतिक संकट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमाले महासचिवकै जिल्लामा एमाले बढारिने संकेत, शंकरलाई राजनीतिक संकट



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्लामै एमाले बढारिने देखिएको छ । दाङमा एमाले कमजोर भएको खण्डमा शंकरमाथि राजनैतिक संकट देखिएको छ ।

अहिले दाङका ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । हाल देखिएको मतको रुझानले दाङमा एमालेको अवस्था रक्ष्यात्मक देखिएको छ ।

शहरी विकासमन्त्री समेत रहेका नेकपा एसका मेटमणि चौधरीले दाङ–१ मा अग्रता लिएका छन् । मेटमणिले ५ हजार १२४ मत पाउँदा एमालेकी शान्ता चौधरीले ३ हजार ७९० मत पाएकी छन् ।

दाङ–२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले १४ हजार १०७ मत प्राप्त गरेकी छन् । एमाले महासचिव शंकर पोखरेलले १२ हजार ४२३ मत प्राप्त गरेका छन् । दुवै बीचको अन्तर १ हजार ६८४ छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार ३०० मत पाएका छन् ।

दाङ–३ मा एमालेकी कोमल वलीलाई पछि पार्दै कांग्रेसका दीपक गिरीले अग्रता लिइरहेका छन् । गिरीले ८ हजार ४३५ मत पाउँदा एमालेकी वलीले ६ हजार ६५२ मत पाएका छन् । यो क्षेत्रमा पनि रास्वपाका कमल सुवेदीले ३ हजार ३१ मत पाएका छन् ।