सेयर बजारमा बिहानैदेखि चटक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सेयर बजारमा बिहानैदेखि चटक



काठमाडौ- आइतबार सेयर बजारमा नाटकीय सुधार आएको छ । नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ बिन्दुमा पुगेको छ । बजार एक हजार आठ सयको मनोवैज्ञानिक परीक्षणबाट उकालो लागेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १७ दशमलव ९३ अंकले बढेर तीन सय ८२ दशमलव ८४ बिन्दुमा पुगेको छ । शुक्रबार लगानीकर्ताले आन्दोलन फिर्ता लिएसँगै बजारमा सुधार आएको हो ।

नेप्से सूचक घटेर १९ महिनायताकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ता आन्दोलनमा होमिएका थिए । १९ बुँदे माग राख्दै लगानीकर्ता तिलक कोइराला नौ दिनसम्म आमरण अनशन बसेका थिए । धितोपत्र बोर्डले लगानीकर्ताले उठाउँदै आएको मागलाई तीन महिनाभित्र बुँदागत रूपमा कार्यान्वयन गर्दै जाने लिखित प्रतिबद्धता जाहेर गरेसँगै आन्दोलन रोकिएको हो । यस दिन सबै समूहका सूचकमा हरियाली छाएको छ ।

विकास बैंक समूह,लगानीगत समूहका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीले नाफा आर्जन गर्दा ट्रेडिङ समूह, जलविद्युत् समूह र ‘अन्य’ समूहको सूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ । निर्जीवन बिमा समूह, माइक्रो फाइनान्स समूह, होटेल तथा पर्यटन समूह, जीवन बिमा समूह र उत्पादनमूलक समूहको सूचक ४ प्रतिशतदेखि ६ प्रतिशतभन्दा बढीले बढेको छ ।

५ प्रतिशतले बढेको बजारमा दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी दुई सय ३० कम्पनीको ६३ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुनेमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, न्यादी ग्रुप पावर रहेका छन् ।

यी कम्पनीको आठ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको पाँच करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । करिब ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।