शशांक कोइरालाले भने: पछिल्लो निर्वाचनमा ६ करोड खर्च गरेको थिएँ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

शशांक कोइरालाले भने: पछिल्लो निर्वाचनमा ६ करोड खर्च गरेको थिएँ



काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए ।

उनले भने- मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा ६ करोड ! ल भन्नुस् त तपाईँहरू कोही चुनाउ लड्न चाहनुहुन्छ ।

उनले सो क्षेत्रमा अरू कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको पनि बताए । कोइरालाले भने- म छोड्न तयार छु । तपाईँहरूले त्यहाँ कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।

चुनावमा खर्च झन् घट्नुपर्ने मान्यता आफू राख्ने उनले बताए । मान्छे चिन्दै गए चुनाव झन् खर्चिलो हुने गरेको उनले अनुभव सुनाए ।

कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस भरसक एक्लै लड्नुपर्ने बताएका छन् । कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले भने- म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।

कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको उनले बताए । त्यही कारण फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम रहेको बताउँदै उनले भने,‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्‍याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थ्यो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’