वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दवाव बढाउँदै शेखर समूह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दवाव बढाउँदै शेखर समूह



काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने बताएको छ। सोमबार बसेको उक्त समूहको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान लिएको हो।

कांग्रेसले उक्त निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने निष्कर्ष पनि निकालेको छ। यो समूहले पाँच दलीय गठबन्धनमा बसिरहे कांग्रेसलाई क्षति हुने निष्कर्षसहित आगामी चुनावमा एक्लै लड्नुपर्ने अडान लिएको हो।

छलफलमा नेताहरुले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै आपत्ति पनि जनाएका छन्।

‘सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको गलत छ। पार्टीभित्र साझा धारणा बनाएर मात्रै अन्य पार्टीसँग छलफल गर्नुपर्थ्यो। न्यायिक साझेदारी भएन। सभापतिले गठबन्धनका नेतासँग एक्लै एक्लै भेटेर आफूअनुकुल कुरा गर्न हुँदैन’, कोइरालाले भने, ‘निर्वाचन सार्ने कुरा पार्टीभित्र हुँदैन। तर समाचारमा निर्वाचन सार्ने कुरा सुनिन्छ। सभापतिले केन्द्रीय समितिको बैठक नबोलाइ एक्लै निर्णय गरिरहेकोमा हाम्रो आपत्ति छ।’

छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि अडान लिएका छन्। त्यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने निष्कर्ष पनि सोमबारको छलफलले निकालेको छ।

यसका लागि इतर समूहले सभापति देउवालाई दबाब दिने भएको छ। देउवाले पार्टीभित्र पेलेर जाने रणनीति बनाएकोले त्यसलाई स्वीकार नगर्ने निर्णय पनि छलफलले गरेको छ ।

‘सभापतिले पेलेर जाने देखियो यो स्वीकार गर्न सकिँदैन,’ कोइरालाले भने, ‘स्थानीयको निर्वाचन वैशाखमै गर्नुपर्छ, पार्टीभित्र एकता कायम गरेर एक्लै निर्वाचनमा जानुपर्छ, न्यायालय अनिर्णयको बन्दी बनाएकोमा एक्सन लिएर जान दबाब दिइनेछ।’

उक्त समूहले सभापति देउवा आफ्नो समूहलाई पेलेरै जाने गरी अघि बढेको भन्दै आपत्ति जनाएको छ।

डा.कोइरालाले डाकेको भर्चुअल बैठकमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, महामन्त्री गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी थिए।