शेखर र गगनको समर्थन जगन्नाथलाई - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

शेखर र गगनको समर्थन जगन्नाथलाई



काठमाडौं- चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । पूर्वनिर्धारित कार्यक्रममा उनीहरू सहभागी नहुने भएपछि बागी उठेका जगन्नाथ पौडेलको लागि सहज वातावरण बनेको छ ।

चुनावी सभालाई सम्बोधन गर्न बुधबार साँझ नै भरतपुर पुगेका देउवाले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालालाई टेलिफोन गरेर भरतपुर आउन आग्रह गरेका थिए । भरतपुरको सभालाई सम्बोधन गर्ने भनेर शेखर र गगनको समेत फोटो राखेर प्रचार गरिरहेका बेला उनीहरू दुबैजना नजाने भएपछि तनावको अवस्था बनेको छ ।

बिहानै देउवाले फोन गरेर सभालाई सम्बोधनका लागि आउन निम्ता दिएपनि कोइराला र थापाले आफूहरू आउन नसक्ने बताएका छन् । दुवै जनाले सभामा सहभागी हुन नसक्ने जवाफ देउवालाई दिएका छन् ।

कोइरालाको सचिवालयले भने ढिलो खबर गरेको र विराटनगरका कार्यक्रममा व्यस्त भएकाले आउन नसक्ने जवाफ देउवालाई दिएको बताएको छ । गगन थापा पनि अन्य कार्यक्रममा व्यस्त भएको भन्दै कार्यक्रममा आउन नसक्ने बताएका छन् । एकातिर जगन्नाथले उम्मेदवारी फिर्ता नलिने अर्कातिर देउवा इतरको समूह भरतपुर नजाने भएकाले त्यहाँको कार्यक्रम खल्लो हुने देखिएको छ ।

कांग्रेसका एक नेताका अनुसार जगन्नाथ शेखर समूहकै नेता भएकाले उनीहरूको समर्थन त्यति रहेको जनाएका छन् । ति नेताले शेखर र गगनकै सल्लाहमा जगन्नाथले उम्मेदवारी फिर्ता नलिएको दाबी समेत गरेका छन् ।

सत्ता गठबन्धनले आज भरतपुरमा चुनावी सभा गर्दैछ । चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन छ । गठबन्धनबाट मेयरमा प्रचण्डपुत्री रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । कांग्रेसबाट जगन्नाथ पौडेल बागी उठेका छन् ।

उनलाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेललगायतका नेताहरुले मनाउने प्रयास गरे पनि सफल भएको छैन । बिहीबार बिहान वरिष्ठ नेता पौडेललाई बागी उम्मेदवार जगन्नाथले भेटे पनि देउवासँग भने भेट्न मानेनन् ।

भरतपुरमा बागी उम्मेदवारी दिएपछि तात्तिएको चुनावी माहोल झनै रोचक बनिरहेको छ ।