शेखरले निरन्तर धोका दिएको गगनले चालै पाएनन्- देउवासँग गोप्य सहमति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शेखरले निरन्तर धोका दिएको गगनले चालै पाएनन्- देउवासँग गोप्य सहमति



नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीमा निर्णायक सङ्घर्षको चरणमा छन् । आफ्नै समूहका नेताबाट धूका भएपछि उनीहरू पार्टी रूपान्तरणको छुट्टै प्रयासमा लागेका छन् । पछिल्लो समय आफ्नै समूहका नेता शेखर कोइरालाले धोका दिएको निष्कर्ष नेताहरूले निकालेका छन् ।  

सरकारमा पछिल्ला मन्त्री पठाउँदा सभापति शेरबहादुरलाई सहयोग पुग्नेगरी नेता कोइरालाले गगन र विश्वप्रकाश शर्मा निकटका नेताहरूलाई बायस गरेपछि उनले आफ्नो समूहलाई धोका दिएर देउवालाई सघाएको पुष्टि भएको हो ।

कांग्रेस संस्थापन समूहका एक नेताका अनुसार अहिले देउवा र कोइराला एकै समूहमा छन् । नादेखिनेगरी गगन र विश्वप्रकाशलाई शेखरले ढोका दिइरहेको उनको बुझाई छ । पार्टी सभापति लड्दा दिलोज्यानले सहयोग गरेको समूहलाई धोका दिएर शेखर देउवा समूहमा लागेको आरोप पनि लाग्न थालेको छ ।

त्यतिमात्र होइन सभापति देउवा र कोइरालाबीच गोप्य सहमति समेत भैसकेको नेताहरूको बुझाई छ । देउवाले शेखरलाई आउँदो महाधिवेशनमा आफ्नै समूहबाट सभापतिको उम्मेदवार बनाउने बचन दिएका छन् ।

कोइरालाले संस्थापन इतर समूहका अन्य प्रभावशाली नेताहरुलाई ‘बाइपास’ गरेर काम गर्न थालेको धेरै समय भएको नेताहरू बताउँछन् । देउवा र शेखर एकमुख भएपछि पार्तेका बैठकमा समेत कसैले बोल्न सकेको छैन । उनीहरू मिलेपछि मन्त्रिपरिषदमा संस्थापन समूहमा रहेका नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलासमेत कसैलाई पनि भाग दिइएको छैन ।

दुई नेताहरू मिलेर मनलाग्दी गरिरहेका पछिल्ला कतिपय घटना छन् । जसमा मन्त्री पठाएको घटना एउटा उदाहरण हो । संस्थापन समूहबाट ५ जना सरकारमा सहभागी हुँदा उक्त समूहभित्र उपसमूहको नेतृत्व गर्ने नेताहरु कसैले पनि भाग पाएनन्। संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेत, रमेश रिजाल र सीता गुरुङ मन्त्री बनेका छन्। उनीहरु पाँचै जना सभापति देउवा निकट हुन्।

संस्थापनमा उपसमूहको नेतृत्व गर्दै आएका पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री सिंह आफैँ मन्त्रीका आकांक्षी थिए। उनीहरु समेत उपप्रधानमन्त्रीको हैसियतमा पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी हुन इच्छुक थिए।

यस्तै देउवा निकट मानिएका पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि देउवा समूहको बायसमा परेका छन् । अर्का पूर्वमहामन्त्री सिटौलाले पनि कुनै भाग भने पाएनन् ।

यो घटनाक्रम कांग्रेसको संसदीय दलको चुनावबाट बिकाश भएको नेताहरूको बुझाई छ । आफ्नै समूहको भोट समेत नपाउँदा महामन्त्री गगन थापाले यसको अध्ययन थालेका थिए । गगन निकट एक नेताका अनुसार संसदीय दलको चुनावमा पनि डा. शेखर कोइरालाले गगन थापालाई धोका दिएर आफ्ना समूहका नेतालाई देउवालाई भोट हाल्न लगाएको खुलेको छ ।

शेखरकै आग्रहमा चन्द्र भण्डारी, धनराज गुरुङलगायतका नेताहरूले देउवालाई भोट हालेको निश्कर्धमा गगन समूह पुगेको छ । शेखर-देउवाबीच संसदीय निर्वाचनअघि नै सहमति भएको पनि खुलेको छ । यी सबै निष्कर्षपछि महामन्त्रीद्वय थापा र शर्मा निर्णायक सङ्घर्षमा लागेका हुन् ।

सभापति देउवा र आफ्नै समूहका नेता बनेर शेखरले धोका दिएपछि महामन्त्रीद्वय थापा र शर्मा असन्तुष्ट छन्। उनीहरुले मन्त्रिपरिषद्का लागि पार्टीबाट नाम पठाउँदा गरिएको एकलौटीप्रति सभापति देउवासँग पदाधिकारी बैठकमै असहमति जनाइसकेका छन्।

सभापति देउवाले मात्रै नभएर आफ्नै समूहका नेता कोइरालाले समेत मन्त्री बनाउने विषयमा छलफल र परामर्श नगरेपछि सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरिसकेका छन्। त्यसैको फलस्वरूप गगन थापाले सामाजिक सञ्जालमा पार्टीमा निर्णायक सङ्घर्ष सुरू भएको उद्घोष गरेका छन् ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्दति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ उनले वैशाख २४ गते बेलुकी सामाजिक सञ्जालमा लेखे, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो।’ गगनले लेखेका छन् ।